सातवटै प्रदेशमा अटो मेकानिक्स सम्वन्धी प्राविधिक कलेजहरु खोल्न व्यवसायीको माग

pic
लोकपाटी न्यूज

चितवन। नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष जनार्दन गैरेले सातवटै प्रदेशमा अटो मेकानिक्स सम्वन्धी प्राविधिक कलेजहरु खोल्न सरकारसँग माग गरेका छन्। शनिबार अटो मेकानिकल व्यवसायी संघ चितवन र अटो मेकानिकल बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा गैरेले यस्तो बताएका हुन्।

उनले अटो बजार निकै फराकिलो बनेको तर दक्ष जनशक्ति नहुँदा ठूलो समस्या पर्ने देखिएकाले प्रदेश सरकार र स्थानीय सरकारहरु यस बिषयमा गम्भीर हुनुपर्नेमा जोड दिए। प्रत्येक जिल्लामा अटो भिलेजको अनिवार्य आवश्यकता भएको उनले बताए। प्रत्येक जिल्लामा अटो मेकानिकल इञ्जिनियरको समेत आवश्यकता भएको अध्यक्ष गैरेले बताए।

कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष कूल बहादुर नेपाली, महासचिव टिकादत्त अधिकारी, सचिव ज्योती भण्डारी, केन्द्रीय सदस्य रामबहादुर लोहनी लगायतले अटो मेकानिकल व्यवसायीलाई सरकारले फरक दृष्टिकोणले हेरिरहेको गुनासो गरेका थिए।

सो अवसरमा धादिङ अटो मेकानिकल व्यवसायी संघका अध्यक्ष ईन्द्र त्रिपाठी,संघका चितवन पूर्व अध्यक्ष बलराम भण्डारी, कानूनी सल्लाहकार राजकुमार श्रेष्ठ, प्रेस सल्लाहकार प्रकाश ज्ञवाली लगायतले अटो मेकानिकल व्यवसायी संघ राज्यकै महत्वपूर्ण अङ्गको रुपमा रहेको चर्चा गरेका थिए।

कार्यक्रममा चैत २१ गते निर्वाचित केन्द्रीय समितिलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो। साथै अटो मेकानिकल व्यवसायी संघको नयाँ वर्षको क्यालेन्डर समेत बिमोचन गरिएको थियो। कार्यक्रम संघका अध्यक्ष प्रेमप्रसाद पाण्डे र अटो मेकानिकल सहकारीका अध्यक्ष नारायण कँडेलको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो।