काठमाडौं। कर्णाली प्रदेशमा भएको फ्लोर क्रसलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच कोटेश्वरमा भेट भएको छ। नेपाल आज विहान झापाबाट फर्किए लगत्तै कोटेश्वरको खरिबोट नजिक चन्द्रलाल श्रेष्ठको घरमा दुई नेताबीच छलफल भएको हो। उनिहरुबीच बिहान एक घण्टा छलफल भएको हो। दुईनेताबीच बिहान सवा ९ बजेदेखि साढे १० बजेसम्म छलफल भएको थियो।
छलफलमा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए। कर्णालीमा माधव नेपाल पक्षको सहयोगमा माओवादी सरकार जोगिएको भोलिपल्ट दुई नेताबीच वार्ता भएको हो। गण्डकीमा पनि एमालेका मुख्यमन्त्रीविरुद्ध कांग्रेस माओवादीले अविश्वास प्रस्ताव दर्ता गराएका छन्।
उनीहरुबीच राजनीतिक परिस्थितिकाे विश्लेषण गर्दै अब कसरी अगाडि बढ्ने विषयमा कुराकानी भएको स्रोतले जनाएको छ। ‘माओवादी केन्द्रबाट प्रचण्ड र नारायणकाजी हुनुहुन्थ्यो, नेपाल एक्लै आउनुभयो,’ स्रोतले भन्यो, ‘उहाँहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम र त्यसपछिका कदमबारे समीक्षा भएको छ।’
पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसहित उनी पक्षका भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरिसकेका छन्। यस अघिदेखि नै असन्तुष्ट नेपाल पक्षले कारबाहीपछि देशभर पार्टीका समानान्तर समिति बनाइरहेको छ।
नेकपा छँदा प्रचण्डकै साथमा रहेका नेता नेपालले सर्वाेच्च अदालतले एकता भंग गराउँदै माओवादी केन्द्र र एमाले नै पुनःस्थापित गरिदिएपछि पनि प्रचण्डसँगको भेटघाटलाई निरन्तरता दिइरहेका छन्।



लोकपाटी न्यूज

