झापा। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सच्चिए आफूहरु मिल्न तयार रहेको बताएका छन्। तर ओली सुध्रने छाँटकाँट नभएको नेता नेपालले टिप्पणी गरे। ‘केपी ओली सुध्रिएलान् जस्तो लाग्दैन। झापामा धामी, झाँक्री वा मोटिभेटर छन् भने पठाउनु होला,’ उनले भने, ‘कस्ता-कस्तासँग त मिलियो। उहाँ सचिनुभयो भने मिलिन्छ।’
झापामा शुक्रबार आयोजित एमाले समानान्तर कमिटीको घोषणा कार्यक्रममा नेता नेपालले ओली झुटको खेती गर्न सिपालु भएको बताए। ओलीले झुटको प्रचार गर्न समूह नै बनाएको उनको आरोप छ। ‘उहाँ झुटको खेती गर्न सिपालु हुनुहुन्छ। त्यसका लागि केही व्यक्ति राखेर साइबर स्याल बनाउनुभएको छ,’ नेपालले भने, ‘उहाँका कारण पार्टी र आन्दोलन समाप्त हुने दिशामा गयो।’
उनल प्रधानमन्त्री ओली २ जेठ ०७५ मै फर्किए मिल्न सकिने बताए। पार्टी एक हुनका लागि ओलीले २८ फागुनको बैठकबाट पदाधिकारी खारेज गर्ने निर्णय र विधान संशोधन गरेर २३ जनालाई मनोनित गर्ने निर्णय फिर्ता लिनुपर्ने उनले बताए। तर, आफूहरूले पुरानो कुरा बिर्सेर नयाँ ढंगबाट अघि बढ्न प्रस्ताव गर्दा पनि ओली त्यसको पक्षमा नरहेको जिकिर गरे।
‘ओलीले २८ फागुनको निर्णय सच्याए हामी मिल्न तयार छौं। उहाँको मानसिकता विरोधीलाई ठेगान लगाउने छ। उहाँ आलोचना सुन्न सुक्नु हुन्न आलोचना गर्नेलाई पत्तासाफ गर्न लाग्नुहुन्छ,’ उनले भने, ‘अध्यक्ष र महासचिव पद राखेर उहाँको गुटको भेलाले अरू खारेज गरेछ। अध्यक्ष र महासचिव पनि एमालेको विधानअनुसार नै बनेको हो। अनि त्यो राख्ने अरू खारेज गर्ने ? यो कस्तो विभेद हो ? एमालेको विधानअनुसार महाधिवेशनबाट निर्वाचित भएकालाई अर्को महाधिवेशनसम्म हटाउन पाइँदैन।’
प्रधानमन्त्री ओली विधि र विधानअनुसार नचलेको आरोप लगाए। आफू अल्पमतमा पर्ने भएपछि पदाधिकारी खारेज गरेर आफूखुसी केन्द्रीय समितिमा मनोनित गरेको उनको आरोप छ। ओलीले पार्टीभित्र ‘एस म्यान’ खोजेको आरोप लगाए। ‘उहाँ बहुमत पुर्याउन सीमा नाग्नु हुन्छ। सबै अधिकार हातमा लिनुहुन्छ। माधव नेपालले अपराध गरे रे ! विधि र विधानसँग नचल्ने केपी ओली। अपराध गर्ने केपी ओली, आरोप हामीलाई ?,’ उनले भने, ‘केपी ओलीले आन्दोलन र संगठन पनि बनाएका हैनन्।’
उनले प्रधानमन्त्री ओलीले ‘भजन मण्डली’ बनाउन खोजेको आरोप लगाए। तर, त्यहाँ जान कम्युनिस्ट पार्टीका कार्यकर्तालाई स्वाभिमानले नदिने उनको भनाइ थियो। ‘हामी अपमान र अन्याय सहँदैनौं,’ उनी भन्छन्, ‘कम्युनिस्ट पार्टीमा विधि र विधान प्रधान हुन्छ। नेता गौढ हुन्छ।’ प्रधानमन्त्री ओली पद जोगाउन जे पनिद गर्न तयार भएको उनको आरोप छ। ‘ओली एक नम्बरका खेलाडी हुन्,’ उनी भन्छन्, ‘पद जोगाउन जे पनि गर्छन्। पार्टी राम्ररी चलाउन सक्दैनन्। पद जोगाउन अरूसँग हारगुहार गर्छन्।’



लोकपाटी न्यूज

