काठमाडौं। आजदेखि कर्णाली प्रदेशसभाको सातौं अधिवेशन सुरु हुँदैछ। आज बस्ने बैठकका लागि छ वटा कार्यसूची तय गरिएको संसद सचिवालयले जनाएको छ। बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त संसद आव्हान सम्वन्धीको पत्र पढेर सुनाइने छ ।
त्यसपछि मन्त्रालयहरुको जिम्मेवारी हेरफेरको पत्र प्रस्तुत गरिने छ। तत्कालीन एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएपछि मुख्यमन्त्री महेन्द्र शाहीले ती मन्त्रालयहरुको जिम्मेवारी हेरफेर गरेका छन्।
बैठकमा तेस्रो कार्यसूचीमा धर्मराज रेग्मीको पद खाली भएको जानकारी गराइने उल्लेख गरिएको छ। तत्कालीन माओवादी केन्द्रबाट दैलेख क्षेत्र नं. १ ‘क’बाट निर्वाचित सांसद रेग्मी एमालेमा प्रवेश गरेपछि सम्वन्धित दलले कारबाही गरेको छ। चौथो कार्यसूचीमा संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलका एक–एक जना माननीयहरुले बोल्ने कार्यक्रम छ।
संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरुले बोलेपछि एक घण्टाका लागि संसद बैठक स्थगित हुनेछ। त्यसपछि मुख्यमन्त्री शाहीले प्रदेश लोकसेवा आयोग सम्वन्धिको संशोधन र प्रशासनिक कार्यविधि संशोधन सम्वन्धीका विधेयक प्रस्तुत गर्नेछन्।
उक्त विधेयकहरु पारित भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ। ४० सदस्यीय कर्णाली प्रदेशसभाका सदस्य मध्ये माओवादी केन्द्रबाट निर्वाचित धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि ३९ सदस्यीय बनेको छ । प्रदेशसभामा बहुमत पु¥याउनका लागि २० जना सांसदको आवश्यकता पर्छ ।
एमाले एक्लैसँग बहुमतका लागि सभामुखसहित २० जना सांसद छन्। माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र राप्रपाका एकजना सांसद छन्। एमालेले माओवादी केन्द्रका शाही नेतृत्वको सरकारबाट बाहिरिँदै नयाँ सरकार निर्माणको गृहकार्य थालेको छ। यस्तो अवस्थामा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ।



लोकपाटी न्यूज

