एमसीसी प्रक्रिया चाँडै अगाडि बढाउँछौँ :कानुनमन्त्री श्रेष्ठ

लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन्। बिहीबार पत्रकारहरुसँगको कुरा गर्दै कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संघीय संसदमा दर्ता भएको एसीसी सम्झौता प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीबाट निर्देशन आएको जानकारी दिए।

प्रधानमन्त्री ओलीको निर्देशन आएसँगै कानुनमन्त्री श्रेष्ठले अब सभामुख अग्निप्रसाद सापकोटासँग कुरा गरेर चाँडै अगाडि बढाउने जानकारी दिए। ‘एमसीसी अगाडि बढाउन प्रधानमन्त्रीबाट निर्देश भएको छ, म सभामुखसँग कुरा गर्छु। एमसीसी प्रक्रिया चाँडै अगाडि बढाउँछौँ,’ मन्त्री श्रेष्ठले भने।

गत सोमबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रम र बुधबार नयाँ वर्षका अवसरमा गरेको देशवासीको सम्बोधनमा प्रधानमन्त्री ओलीले एमसीसी सम्झौतालाई अगाडि बढाउन आवश्यक रहेको बताएका थिए। २०७६ असार ३० गते संघीय संसद् सचिवालयमा दर्ता भएको एमसीसी सम्झौता दलीय असमझादारीका कारण अगाडि बढ्न सकेको छैन। सो सम्झौतालाई संसदबाट अनुमोदन गराउनु पर्ने अमेरिकाको चाहना बमोजिम संसदमा दर्ता गरिएको हो। तर, सत्तारुढ एमालेभित्र र अन्य दलबाट विरोध भएकाले अगाडि बढेको छैन।

यसअन्तर्गत अमेरिकाले लागु भएको पाँच वर्षमा झन्डै ६० अर्ब रुपैयाँ नेपालको पूर्वाधार विकासको लागि अनुदान दिने उल्लेख छ। सोही समयभित्र नेपाल सरकारले चाहिँ ती पूर्वाधार विकासमा आफ्नोतर्फबाट झन्डै १५ अर्ब रुपैयाँ खर्च गर्नुपर्नेछ।