केपी ओली वाम गठबन्धनको विरोधी हुन् : भुसाल

Ghanshyam_Bhusal
लोकपाटी न्यूज

बुटवल। नेकपा एमाले नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सी मोह त्यागे अझै पनि वाम गठबन्धनको सरकार बन्न सक्ने आधार रहेको बताएका छन्। बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भुसालले पार्टी अध्यक्ष ओलीको शक्ति र कुर्सीको अहंकारका कारण मुलुकको राजनीति बिग्रिएको बताए।

उनले ओलीले सत्ता र अहंकार त्यागेमा सहमतिको सम्भावना रहेको बताए। ‘उहाँको सत्तामा रहिरहने र अहंकारी प्रवृत्तिका कारण सहमतिको वातावरण बिग्रिएको हो,’ उनले भने, ‘त्यही अहंकारका कारण आफ्नै पार्टीका नेतालाई लखेटेर अरु दलसँग गठबन्धन गरेर सरकार बचाइराख्ने प्रयास गरिराख्नुभएको छ।’

ओलीले वाम गठबन्धनको सरकार बनाउनु सट्टा महन्थ ठाकुरलाई गुहार्न गएको भुसालले बताए। ‘हामी वाम गठबन्धनकै सरकारको पक्षमा छौं। तर, ओलीजीले आफ्नै पार्टी बन्धक बनाएर विभाजनको बाटोमा लग्नु भयो। वाम गठबन्धनलाई बाटो खोलीदिने सट्टा महन्थ ठाकुरजीहरुलाई गुहार्न जानुभएको छ। ओलीजी वाम गठबन्धनकै विरोधी हो,’ उनले भने।

नेता भुसालले पार्टी विभाजन रोकेर एकता प्रयत्नका लागि नै आफू सबैभन्दा धेरै लागेको बताए। ‘व्यक्तिगत हिसाबले निरन्तर छलफल गरिरहेको छु। अब पनि ओलीजीको अहंकार नसच्चिने हो भने पार्टीमात्र होइन, देश नै खतरामा पर्छ,’ उनले भने। अब पनि ओली नसच्चिए त्यसको परिणाम आफैले भोग्ने भुसालको भनाइ छ।

ओलीले समानान्तर कमिटी बनाए पनि आफूहरु एकताकै पक्षमा भएको हुँदा २०७५ सालकै जिल्ला कमिटी पुनर्गठन गरेको भुसालले बताए। ‘करिब-करिब ७० जिल्लामा पार्टी पुनर्गठन गर्यौं। अब बाँकी जिल्लामा पनि २ हप्ताभित्र जिल्ला कमिटी पुनर्गठन हुनेछन्,’ उनले भने। नेता भुसालले ओलीले लोकतन्त्रको लक्ष्मणरेखा भत्काउँदै गएको र सीताहरणको सुरुवात गरिरहेको बताए।