व्यवस्था परिवर्तन भएपनि चिन्तन परिवर्तन हुन नसकेकाे मन्त्री रायमाझीकाे टिप्पणी

Top Bdr Rayamajhi
लोकपाटी न्यूज

काठमाडौं। उर्जा जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले देशमा व्यवस्था परिवर्तन भए अनुसार राजनीतिक नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन्। अखिल (छैठौं)ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले व्यवस्था परिवर्तन भएपनि राजनीतिक नेतृत्वहरुमा निरङ्कुश व्यवस्थाको चिन्तन, प्रवृति, संस्कार र संस्कृतिहरू कायमै रहेको बताएका हुन्।

त्यसको विरुद्धमा अझै लड्नुपर्ने आवश्यकता रहेको पनि बताए। एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा आइसकेपछि विकास र समृद्धिमा सफलता हासिल गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए। परिवर्तित समाजमा मार्क्सवाद, लेनिनवाद र माओवादका दर्शन विचारहरु महत्वपूर्ण भएपनि आर्थिक, राजनीतिक, समाजिक, सञ्चार, विज्ञान र प्रविधिको विकास भएको आधारमा विचारलाई परिवर्तन गर्न नसक्दा सम्म रुपान्तरण हुन गाह्रो हुने पनि बताए।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता देव गुरुङले सामन्तवाद र वैदेशिक उपनिवेशलाई विस्थापन नगरिकन समाजवादी क्रान्ति सम्भव नभएको बताए। अहिले समाजवादको राजनीतिक प्रवृति विस्थापन भएको तर आर्थिक सामाजिक र सांस्कृतिक जराहरु विस्थापन नभएको बताए । संसद विघटनदेखि अदालतबाट दल विभाजन गर्ने काम बाह्य शक्तिकेन्द्रहरुबाट भएको पनि बताए।