नेपाल समूहविरुद्ध ओली झन् कठोर, फेरि कारबाही गर्ने तयारी

KP Sharma Oli-33
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका निलम्बित नेताहरूमाथि थप कारबाही अगाडि बढाउने तयारी गरेका छन्। पार्टीमा विवाद उत्कर्षतर्फ बढिरहेको बेला ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहमाथि थप कारबाही गर्ने तयारी गरेका हुन्।

यसअघि पार्टी विरोधी गतिविधिमा संलग्न भएको आरोपमा ओलीले नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेलाई सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका थिए। पार्टी विरोधी, पार्टीमा फाटो ल्याउने र गुटगत क्रियाकलाप नेकपा एमालेको नाममा गरिरहेकोले उनीहरूलाई निलम्बन गर्नुपरेको भनिएको थियो।

उनीहरूलाई सच्चिनका लागि अन्तिम मौका दिइएकोले आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न भनिएको थियो। तर खनाल-नेपाल समूहले उक्त गतिविधिमा सुधार नल्याएको, समानान्तर सङ्गठन निर्माणमा सक्रिय रहेकोले थप कारबाहीको तयारी गरिएको ओली निकट एक नेताले बताए। ‘वैशाख ६ गतेबाट महाधिवेशन आयोजक कमिटीको बैठक बस्छ। त्यो बैठकको एउटा एजेन्डा समानान्तर कमिटी गठन गर्ने र गतिविधि गर्नेहरूमाथि कारबाही हुनेछ,’ ती नेताले भने, ‘समानान्तर गतिविधिहरूलाई अहिलेकै अवस्थामा छाड्न सकिन्न। त्यससम्बन्धी प्रस्ताव जान्छ।’

ओलीले वैशाख ६ गतेबाट महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन्। यता खनाल नेपाल समूहले पनि पार्टीमा समानान्तर कमिटी गठन गर्ने कार्यलाई तीव्रता दिएको छ। ओलीको कार्यशैलिविरुद्ध यो समूहले देशभर समानान्तर गतिविधि गर्दै आएको छ। चैत्र ४ र ५ गते सम्पन्न राष्ट्रिय भेलाका निर्णयहरू, त्यसअघि र पछि भएका स्थायी कमिटी तथा केन्द्रीय कमिटीका निर्णयहरू समेटेर खनाल-नेपाल समूहले आन्तरिक सर्कुलर समेत जारी गरेको छ। सर्कुलरमा खनाल-नेपाल समूहले राष्ट्रिय भेलाको निर्णयअनुसार परिचालित हुन कार्यकर्तालाई निर्देशन दिएका छन्।

आइतबारसम्ममा खनाल-नेपाल पक्षले ६४ जिल्लामा समानान्तर कमिटी घोषणा गरिसकेको छ। ओली कार्यशैलीसँग असन्तुष्ट यो पक्षले अदालतको फैसलाअनुसार कमिटीलाई पुनर्गठन गरेको बताउँदै आएको छ। सो समूहले विभिन्न जनवर्गीय सङ्गठन तथा भ्रातृ संगठनहरुको नेतृत्व समेत चयन गरेको छ। फागुन २३ गते सर्वोच्च अदालतले माओवादी केन्द्रसँगको एकीकरण प्रक्रियालाई अवैधानिक ठहर गरेपछि ब्युँतिएको एमालेमा विवाद चर्किँदै गएको हो।

अध्यक्ष ओलीले फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय सदस्यहरू थप गरेपछि विवाद उत्कर्षमा उत्कर्षमा पुगेको छ। लगत्तै चैत ४ र ५ गते खनाल-नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो। अदालतको फैसलाअनुसार २०७५ जेठ २ गते रहेको पार्टी सङ्गठनलाई अघि नबढाए देशभर समानान्तर कमिटीको बनाउने निर्णय गरेको थियो। ओलीले उक्त कार्य सच्याएर पार्टीका गतिविधिमा लाग्न आग्रह गरेका थिए। एमालेको नाममा नेताहरूले निरन्तर पार्टी विरोधी गतिविधि जारी राखेकोले अध्यक्ष ओलीले थप कारबाहीको आवश्यकता महसुस गरेको उनी निकट एक केन्द्रीय सदस्य बताउँछन्।

‘अहिले पार्टीबाट मात्रै कारबाही गर्ने हो। सांसदबाट कारबाही गर्न सांसदको रूपमा स्पष्टीकरण सोध्नु पर्ने हुन्छ। त्यस्तो योजना भने छैन। हामीले गर्ने कारबाहीले राजनीतिक दल सम्बन्धी ऐन भने आकर्षित हुने छैन,’ ती नेताले भने। राजनीतिक दलसम्बन्धी ऐन आकर्षित हुने गरी कारबाही गर्न सांसदको पद रिक्त हुन जान्छ। वैशाख ६ गतेबाट सुरु हुने महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

बैठकको प्रमुख एजेन्डामा उपनिर्वाचन वा मध्यावधि निर्वाचन, महाधिवेशनको कार्ययोजना तथा आयोजक समितिका सदस्यहरूको जिम्मेवारीका विषय समावेश हुनेछन्। नेकपा माओवादी केन्द्रले एमालेतर्फ लागेका सांसदहरूलाई पार्टी सदस्यबाट निष्कासित गरेपछि सो स्थान रिक्त भएको छ। मन्त्रीहरू प्रभु साह, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र लेखराज भट्ट कारबाहीमा परेका थिए। उनीहरूको सबै प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन्।

त्यसै गरी गृहमन्त्री रामबहादुर थापा बादललाई पनि माओवादीले कारबाही गरेको छ। उनी बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित सांसद हुन्। माओवादीले विभिन्न प्रदेशका सांसदहरूलाई समेत साधारण सदस्यहरूलाई निष्कासित गरेको छ। रिक्त भएको स्थानमा ६ महिनाभित्र चुनाव गर्नुपर्ने व्यवस्था छ।

‘उपनिर्वाचन भए कसरी जाने र मध्यावधि निर्वाचन भए कसरी जाने र कस्तो तयारी गर्ने भन्ने विषयमा समेत बैठकमा निर्णय हुने छ,’ ती नेताले भने। ओली पक्षले मंसिर २ देखि ६ गतेसम्म एमालेको दसौं महाधिवेशन गर्ने निर्णय गरेको थियो। जसका लागि चैत ७ गते भएको केन्द्रीय कमिटीको बैठकले सो कमिटीलाई आयोजक कमिटीमा परिणत गरेको थियो। तर, खनाल-नेपाल पक्षले भने केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने कार्य विधान विपरीत भएको बताउँदै आएको छ।