काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रदेश २ का ४ जना सांसदलाई पदमुक्त गर्न सिफारिस गरेको छ। नेकपा एमालेमा लागेका चार जना प्रदेशसभा सदस्यहरुलाई माओवादी केन्द्रले पदमुक्त गर्न सभामुख सरोज यादव समक्ष सिफारिस गरेको हो।
माओवादी केन्द्रले प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुश्वाहा, ज्वाला साह र मोहम्मद समिरलाई कारबाही गरेको छ। उनीहरुलाई पदमुक्त गर्न सिफारिस गरेको माओवादी केन्द्र प्रदेश २ को संसदीय दलका नेता भरत साहले जानकारी दिए।
चारैजना प्रदेशसभा सदस्यहरुलाई पदमुक्त गरिएको पत्र सभामुख सरोजकुमार यादवलाई बुझाइएको उनले बताए। नेकपा एमालेमा लागेपछि चारै जना सांसदलाई पार्टीको केन्द्रीय समितिले स्पष्टीकरण सोधेको थियो। २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिए पनि नदिएपछि उनीहरुलाई पदमुक्त गर्न सिफारिस गरिएको संसदीय दलका नेता साहले बताए।
माओवादी केन्द्रको प्रदेशसभामा प्रतिनिधित्व गर्ने ११ जना प्रदेशसभा सदस्यहरु थिए। ती मध्ये चार जना कारबाहीमा परेका छन्। यसअघि माओवादीले प्रतिनिधिसभा सांसद लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीलाई बर्खास्त गरेको थियो।



लोकपाटी न्यूज

