गोरखा। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले संसदीय प्रणाली खारेजीका लागि जनमत संग्रहमा जानुपर्ने बताएका छन्। गोरखा सदरमुकाममा आइतबार पत्रकार भेटघाटका क्रममा बास्तोलाले संसदीय प्रणाली अलोकतान्त्रिक भएको दावी गरे।
‘संसदीय प्रणाली लागू भएको देशमा अलोकतान्त्रिक व्यवस्था देखिन्छ,’ उनले भने, ‘नेपालमा पनि दलहरु यही प्रणालीमा फसिरहेका छन्, यसबाट बाहिर निस्कन हामी सबैलाई आग्रह गर्छौं।’ बास्तोलाले आफू तत्काल सरकारमा गएर संसदीय प्रणालीमा फस्ने कुरामा सचेत रहेको बताए।
‘यो संसदीय राजनीतिक प्रणालीले निकास नदिने निश्चित छ,’ उनले भने,‘देशमा जुनखाले विध्वंस छ, राजनीतिक, आर्थिक सामाजिक अस्थिरता छ, यो हाम्रो उपस्थिति नभएकाले होइन, संसदीय व्यवस्थाको कारणले हो।’ संसदीय प्रणाली रहेसम्म सरकारमा आफू नजाने बास्तोलाको भनाई छ। सबै मिलेर संसदीय प्रणालीको अन्त्य गर्नुपर्ने उनले बताए।
उनले देशको माग अनुसारको आफ्नो पार्टीको एजेण्डा स्थापित हुने बताए। ‘प्रचण्डले संसदीय व्यवस्थालाई उपयोग गर्दै क्रान्तिमा जाने कुरा गर्नुभयो, हामीले उपयोगको कुरा पनि गरेका छैनौं,’ उनले भने,‘यस्तो कुरा लेनिनको पालामा थियो, अहिले औचित्य सकिएको छ।’ संसदीय पार्टीहरुको संघर्ष अहिले पनि चलिहरेको उनले बताए।
उनले राजनीतिक सहमति गरेर समुन्नत राजनीतिक प्रणालीमा जानुपर्ने धारणा राखे। यद्यपि त्यस्तो प्रणाली के हो भन्ने ब्याख्या गरेनन्। ‘समुन्नत राजनीतिक प्रणालीमा जानुपर्छ, यसमा सहमति भएन भने फैसलाको जिम्मा नेपाली जनतालाई दिनुपर्छ, त्यसका लागि जनमत संग्रह आवश्यक छ,’ उनले भने।
सरकार र आफूहरुको पार्टी बीच भएको ३ बुँदे सहमति कार्यान्वयनको चरणमा अघि बढेको नेता बास्तोलाले बताए। ‘सहमित अनुसार पार्टी माथिको प्रतिवन्ध हटाइएको छ, पक्राउ परेका हाम्रा कार्यकर्ता रिह गरी मुद्धा खारेज गरेपछि राजनीतिक समस्या समाधानका लागि सरकारसँग सम्वाद अघि बढाउछौं,’ उनले भने।



लोकपाटी न्यूज

