पर्सामा पनि एमाले विभाजित

uml
लोकपाटी न्यूज

वीरगन्ज। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले पर्सामा समानान्तर जिल्ला कमिटी गठन गरेको छ। वरिष्ठ नेता माधवकुमार नेपाल र घनश्याम भुसालको उपस्थितिमा शनिबार वीरगन्जको भिसुवा होटलमा आयोजना भएको कार्यकता भेलामा बालगोपाल थापाको नेतृत्वमा एक सय ७५ सदस्यीय जिल्ला कमिटी गठन भएको हो।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले पार्टीलाई बलियो बनाउन राष्ट्रव्यापी अभियान थालिएको बताए। आइतबार बिहान पर्सामा आयोजित पत्रकार सम्मेलनमा नेपालले यो अभियानले छरपस्ट रहेका कार्यकर्तालाई एकतावद्ध गर्ने बताए। ‘संगठनविहीन भएकालाई संगठनमा आवद्ध गरिनेछ,’ उनले भने, ‘अनेक भ्रममा परेकालाई भ्रममुक्त गर्ने छ।’

उनका अनुसार जब पार्टीमा संकट देखापर्‍यो, पार्टी विधि अनुसार चलेन। पार्टीमा मनपरितन्त्र हाबी भएर सबै सिस्टम भक्तिन थालेपछि गलत प्रवृत्ति अन्त्य गर्ने अभियान थालिएको उनले बताए। आफ्नो पक्षका अध्यक्ष र पदाधिकारीलाई हटाउँदै गरेकोमा आफूहरुले प्रत्येक जिल्ला, नगरपालिका, गाउँपालिका र वडामा संगठन बनाउन थालेको बताए।

‘हामीलाई कुर्सीको लोभ छैन्, अहिले कुर्सीमा जानु छैन,’ उनले भने, ‘यो संघर्ष विधिको हो, कुर्सीको हैन्। जुन कदम चालिएका छन्, ती असंवैधानिक छन्, लोकतन्त्र विरोधी छन्।’ महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीलाई सानो गुटको भेला बोलाएर आफ्नो पक्षमा नभएकालाई पद र जिम्मेवारी खोसिदिने काम भएको उनले बताए। आफूहरु दलको विधानले बाधिएको र अहिले आफूहरुको बहुमत नभएको स्पष्ट पारे।

बहुमत नभएकाले सबै प्रतिपक्षी मिलेर सरकार बनाउन खाोजेमा नबनाउ भन्न नमिल्ने उनले बताए। ‘जे गर्नु हुन्छ उहाँहरुले गर्नुहुन्छ। बाधा अड्काउ फुकाउको नाममा विधानमा मनपरी गर्न पाइँदैन्,’ उनले भने, ‘त्यसको उजुरी हामीले निर्वाचन आयोगमा गरेका छौँ। निर्वाचन आयोग जस्तो संवैधानिक अंगले फैसला गर्दैन भने यो भन्दा ठूलो विडम्बना के हुन्छ। पार्टीमा मनपरी भइरहेको छ। गलत भयो भनेर निर्वाचन आयोग गयौँ। चिठी दर्ता गर्‍यौँ। तर, केही भएन।’