एमाले प्रवेश गरेका वडाध्यक्षलाई २४ घण्टे स्पष्टीकरण

Communist_Party_of_Nepal_Maoist
लोकपाटी न्यूज

ओखलढुंगा। एमाले प्रवेश गरेका वडाध्यक्षमाथि नेकपा माओवादी केन्द्र ओखलढुंगाले २४ घण्टे स्पष्टीकरण सोधेको छ। नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर एमाले प्रवेश गरेका चम्पादेवी गाउँपालिका वडा नम्बर ७ का वडअध्यक्ष सुरेशकुमार थापालाई स्पष्टीकरण सोधेको हो।

एमाले र माओवादी मिलेर बनेको नेकपा सर्वोच्च अदालतले विघटन गरेपछि माओवादी नेता थापा एमाले प्रवेश गरेका थिए। जिल्ला कमिटी बैठकले निर्णय गरेर २४ घण्टे स्पष्टीकरण सोधेको जिल्ला अध्यक्ष मोहनकुमार खड्काले जानकारी दिए। पार्टी छाडेर नेकपा एमालेको भेला, बैठकमा सहभागी भएको पाइएपछि स्पष्टीकरण सोधेर कारबाही अघि बढाइएको माओवादी केन्द्रले जनाएको छ।

पार्टीमा फिर्ता नभए सदस्यबाटै हटाएर पदमुक्त भएको जानकारी निर्वाचन आयोगलाई गराइने खड्काको भनाइ छ। त्यस्तै, एमाले प्रवेश गरेका पूर्वसांसद बालकृष्ण ढुंगेलसहितका माओवादी केन्द्रका नेताहरूलाई साधारण सदस्यबाट समेत हटाउन प्रदेश कमिटीमा सिफारिस गरिएको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ विपरीत कार्य गरेकाले स्पष्टीकरण सोधेको बताइएको छ।