ओलीलाई हटाएपछी फेरी वामपन्थीको सरकार बन्नुपर्छ : चित्रबहादुर केसी

chitra-bahadur kc
लोकपाटी न्यूज

बुटवल। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारबाट प्रधानमन्त्री ओली बहिर्गमन हुनुपर्ने बताएका छन्। उनले विदेशी शक्तिहरुले सरकार बनाउनको लागि जुट मिलाउन खोजेपनि अझैसम्म नमिल्दा अलमल भएको बताएका छन्। आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले भने, ‘बाह्य शक्तिहरुले दलहरूको जुट मिलाउन खोजेका छन्। त्यो मिलिरहेको छैन।’ उनले विदेशीहरु आफ्नो स्वार्थ अुनसार चलाउनको लागि दलहरु विरालोले मुसो खेलाए जस्तै खेलाएको बताए।

पुनःस्थापित संसदलाई विघटन गरी मध्यावधि निर्वाचनमा जाने खेल भइरहेको भन्दै त्यो रोक्नको लागि वामपन्थीहरूको सरकार फेरी बन्नुपर्ने बताए। उनले भने, ‘ ओली हटाएर फेरी वामपन्थीहरूको सरकार बन्नुपर्छ त्यसको लागि वामपन्थीहरूको विच कार्यगत एकता अथवा अन्य सहकार्य हुनुपर्छ।’ उनले जनताले दिएको म्यान्डेट अनुसार २०÷२२ महिला पहिले नै निर्वाचनमा जानु गलत भएको बताए। मुलुकमा वामपन्थीहरूको बहुमत हुँदाहुँदै कम्युनिष्टहरुले कुर्सीका लागि झगडा गर्दा मुलुक अहिलेको अवस्थासम्म आइपुगेको बताए।

केसीले संसद खरिद विक्री गर्ने खेल भइरहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई विजनेश नदिएर काम विहिन बनाएको आरोप लगाए। उनले भने भने, ‘पहिला एक ठाउँमा खरिद विक्री हुने थियो अहिले ८ ठाउँमा खरिद विक्री भएको छ।’ जनमोर्चाको यही चैत्र २४ गतेदेखि २६ गतेसम्म भएको राष्ट्रिय सम्मेलन १३ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। घोषणा पत्रमा संघीयता खारेजीको मागलाई प्राथमिकताका साथ राखिएको छ।

संघीयताकै कारण मुलुकको राजनैतिक अवस्था अहिलेको स्थितिमा आइपुगेको बताउँदै संघीयता खारेजको ​ माग दोहोराए। भेलाले गणतन्त्रवादी शासकहरुको गलत नीतिका कारण वर्तमान व्यवस्थाप्रति जनताको असन्तुष्टि बढ्नुका साथै गणतन्त्रका बिरुद्ध देशमा जनमत निर्माण भएको राष्ट्रिय जनमोर्चाको सम्मेलनले ठहर गरेको उनले बताए। राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुन चित्रबहादुर केसी निर्वाचित हुनुभएको छ। ३७ सदस्य पूर्ण र १० बैकल्पिक सदस्य रहेको राष्ट्रिय जनमोर्चाको सम्मेलन केन्द्रिय समिति गठन गरेको छ। जसको कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्ष जनकराज शर्मा, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, समिव हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएका छन्।