नयाँ सरकार बनाउन देउवा अग्रसर, ओली सरकारको आयु कति ?

Prachanda_Deuba_Thakur
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज तीन दलको बैठक बोलाएका छन्। देउवाको अग्रसरतामा आज दिउँसो ३ बजे नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी छलफलमा जुट्ने भएका हुन्। चैत २० मा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकार गठनका लागि पहल गर्ने निर्णय गरे बमोजिम नयाँ सत्ता समीकरणबारे छलफल गर्न देउवाले बैठक बोलाएका हुन्।

बैठकमा देउवाले आफ्नो नेतृत्वमा सरकार गठनका लागि आधिकारिक धारणा माग गर्न सक्ने बताइएको छ। देउवालाई नयाँ सरकार गठनको पहल थाल्न पार्टीभित्र र बाहिर दबाब छ। एक साताअघि नै कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नयाँ सरकार गठन गर्न कांग्रेसले अग्रसरता लिने निर्णय गरेको थियो। त्यसैको तयारी स्वरूप नयाँ सरकार गठनका लागि देउवाले तीन दलको बैठक डाकेका हुन्।

नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले वैकल्पिक सरकार गठनका लागि अधिकत्तम सहमति जुटाउनको लागि माओवादी केन्द्र र जसपासँग छलफल गर्न थालिएको बताए। जसपाका नेता राजकिशोर यादवले बैठकको आयोजना गर्ने कांग्रेसले के प्रस्ताव ल्याउँछ, त्यो सुनेर आफ्नो पार्टीको धारणा राख्ने बताए। उनले भने, ‘अहिले नै के कुरा राख्ने भन्ने होइन, उहाँहरुको कुरा सुनेर आफ्नो धारणा राख्छौं। हामी यस्ता बैठक र छलफलमा सक्रियतापूर्वक सहभागी हुन्छौं।’

नयाँ सरकार गठनबारे दलहरूसँग छलफल गर्न देउवाले पार्टीको केन्द्रीय समितिको बैठक पनि केही दिन पछि सारेरका छन्। शुक्रबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक अब ३० चैतमा बस्ने भएको छ। आजको बैठकले सम्भावित नयाँ सत्ता समीकरणको रूपरेखा तयार गर्नसक्ने कतिपयको विश्लेषण छ। जसपा र माओवादीको आधिकारिक धारणा बुझ्ने र सोही अनुसार भावी रणनीति बनाउने योजनामा देउवा छन्।

कांग्रेसले सरकार बनाउन पहल गर्ने निर्णय गरेलगत्तै पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले जसपाका नेता महन्थ ठाकुरसँग एकसरो कुराकानी गरे पनि त्यसपछि वार्ता अगाडि बढ्न सकेको थिएन। पौडेलले देउवा आफैंले जसपाका नेताहरुसँग कुराकानी गरेमा सरकार निर्माणमा सहमति जुट्ने बताएका थिए। कांग्रेसको निर्णयपछि माओवादी केन्द्र र जसपा देउवाको पहलको पक्षमा थिए।

निर्णायक शक्ति जसपाले अझै पनि सरकार गठनका सम्बन्धमा निर्णय नलिइसकेका कारण तत्कालै नयाँ समीकरण बन्ने सम्भावना भने कम छ। किनभने नयाँ सरकार गठनका विषयमा जसपामा स्पष्ट दुई धार देखिएको छ। डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष ओलीको तत्कालै विकल्प खोज्नुपर्ने पक्षमा छ भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष ओलीसँग निरन्तर सम्वादमा छन्।

कांग्रेसका नेताहरु नयाँ सरकार गठनको बल जसपाकै कोर्टमा रहेको बताउँछन्। केही दिन अगाडि अनलाइनखबरसँगको कुराकानीमा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले नयाँ सरकार बनाउने विषय जसपामा निर्भर रहको बताएका थिए। उनले भनेका छन्, ‘हुन त माओवादी केन्द्रले पनि सरकारको समर्थन फिर्ता लिएको छैन। उहाँहरुले प्राविधिक कारण देखाउनु भएको छ। त्यसो हो भने माओवादी केन्द्रमा समस्या नहोला तर जसपामा अन्योल नै छ।’

जसपाका नेताहरुले भने सरकार बनाउन चाहने पार्टीले आफ्ना मागहरु पूरा गर्ने स्पष्ट रोडम्याप ल्याउनुपर्ने बताइरहेका छन्। तर, सरकार गठनमा अग्रसर कांग्रेस तत्कालै त्यसका लागि तयार देखिदैन, न त यस विषयमा उसले पार्टीमा औपचारिक छलफल नै गरेको छ। कांग्रेस नेताहरु संविधान संशोधन लगायत जसपाका मागहरुको सम्बन्धमा सकारात्मक रहे पनि टीकापुर काण्डका मुख्य अभियुक्त ठहर भई जेल जीवन बिताइरहेका रेशम चौधरीको रिहाइको माग निर्वाचन अगाडि पूरा गर्न नसकिने बताउँछन्।