नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको बैठक भोलि बस्दै

Prachanda_Deuba_Thakur
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक भोलि( शुक्रबार) बस्ने भएकाे छ। बैठक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाेलाएका हुन्। पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको बैठक बोलाएका हुन्।

विहीबार बिहान माओवादी उपाध्यक्षसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए। कांग्रेसले गएको साता नै केन्द्रीय कार्यसमितिबाट ओलीको राजीनामा माग्ने र नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेपनि त्यसले ठोस आकार लिन सकेको छैन। औपचारिक रुपमा तीन दल छलफलमा समेत बसेका छैनन्।

जसपा नेताद्वय राजेन्द्र महतो र महेन्द्र राय यादवसँग प्रवक्ता श्रेष्ठले फोनमार्फत भोलिको बैठकबारे कुरा गरेका छन्। उता, जसपा अध्यक्ष उपेन्द्र यादव अहिले पार्टी कामको सिलसिलामा जनकपुरमा रहेका छन्। यादव आजै साँझ राजधानी फर्कने कार्यक्रम रहेको छ।