गण्डकी प्रदेशका दुई मन्त्रीद्वारा राजीनामा दिने तयारी

लोकपाटी न्यूज

पोखरा। गण्डकी प्रदेशका दुई जना मन्त्रीले आज राजीनामा दिने भएका छन्। माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिने भएका हुन्। यद्यपी प्रदेश सरकारलाई दिएको समर्थन भने फिर्ता लिने निर्णय नभएको प्रदेश सभा सदस्य दीपक कोइरालाले जानकारी दिए।

‘अहिलेको परिस्थितिमा सरकारमा बस्न उचित देखिएन,’ उनले भने, ‘सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता लिँदैनौं।’ बुधबार भएको संसदीय दलको बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो। गण्डकी सरकारमा माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा गरि दुई मन्त्री रहेका छन्।

गण्डकी प्रदेशसभाको बुधबारदेखि हिउँदे अधिवेशन सुरु हुँदैछ। बैठक बुधबार १ बजे बस्दैछ। अधिवेशनको पहिलो दिनको बैठकमै राजीनामाको घोषणा गर्ने तयारी भएको माओवादीका एक सांसदले बताए। माओवादी केन्द्रको संसदीय दलका नेता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री चुमानले निर्णयबारे आजकै संसद बैठकलाई जानकारी दिने बताए।

‘जे हुन्छ, संसद बैठकमै हुन्छ’, उनले भने। गण्डकी प्रदेश सरकार एमाले र माओवादी केन्द्रको संयुक्त सरकार हो। एमालेलाई मुख्यमन्त्री र माओवादीलाई सभामुखको पद बाँडिएको थियो। गण्डकी प्रदेश सभामा ६० जना सांसद छन्। जसमा एमालेको २८, कांग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाको ३ र जनता समाजवादी पार्टीको २ जना सांसद छन्।