प्रचण्डकाे आत्मआलाेचना : ‘बादल’लाई गृहन्त्री बनाउनु गल्ती भयो

लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाली फटाहाले प्रतिक्रान्ति बढाउने षडयन्त्र गरेको आरोप लगाएका छन्। ३२ औं जनआन्दोलन दिवसका अवसरमा रूकुम पश्चिममा आयोजित जन प्रशिक्षण कार्यक्रममा प्रचण्डले उनले रुकुमबाट आफूलाई उर्जा मिलेको बताए। ‘बिजुली ट्रान्समिसन भएजस्तो। तपाईबाट मभित्र उर्जा भरियो। मलाई शक्ति प्राप्त भयो,’ उनले भने।

आफू आत्मालोचना गर्न रुकुम आएको प्रचण्डको भनाइ छ। चुनावमा आफूलाई मार्न खोज्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेको प्रचण्डको स्वीकारोक्ति छ। ‘सायद मैले गल्ती गरे। चुनावमा केही सक्नेले मात्रै बाँचेको मेराबिरुद्ध बम पड्काएकालाई स्थायी कमिटीमा राखे। गृहमन्त्री बनाइदिए। मैले गल्ती गरे। म त्यो आत्मालोचना गर्न आएको हो। म अब त्यसो गर्दिन। युद्ध र आन्दोलनमा लागेका जनतालाई नै अगाडि बढाउन चाहन्छु,’ प्रचण्डले भने।

उनले आफूलाई राजनीतिक रुपमा कमजोर आंकलन गरिएको भन्दै कमजोर नठान्न चुनौती दिए। आफूलाई जनता, कार्यकर्ता र नेताको ठूलो साथ रहेको प्रचण्डको बताए। उनले आफू अहिले पनि निकै शक्तिशाली भएको दाबी गरे। ‘प्रचण्ड कमजोर भइसक्यो भन्न खोजिँदैछ। यो गणतन्त्र उल्ट्याइदिए हुन्छ भन्ने केहीँ केहीँले भनिरहेका छन्। मसँग ताकत छैन भन्ने सोचेका छन्। मसँग शक्ति छ। जनता कार्यकर्ता र नेता छन्,’ उनले भने।

जनताको बलमा त्यतिबेला प्रतिगमन रोकिए पनि जनताका उपलब्धि विरुद्ध षडयन्त्र अझै जारी रहेको उनले बताए। ‘देशभित्र र बाहिर अनेक षडयन्त्र र प्रपञ्च भइरहेको छ । हामी त्यसका विरुद्ध लडिरहेका छौं,’ उनले भने, ‘तर काठमाडौंमा बसेर लडेको लडाइले हामीलाई धेरै प्रतिफल दिएको छैन । जतिबेला जनताको गाउँघर, टोलमा पुगेका छौं, जनताको बलमा हामीले सफलता पाएका छौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्