कुखुराको मासुकाे मूल्य अहिलेसम्मकै उच्च, केजीकाे कति पुग्याे ?

लोकपाटी न्यूज

काठमाडौं। कुखुराको मासुकाे मूल्य हालसम्मकै उच्च भएकाे छ। उत्पादनमा कमी आउन थालेपछि मासुको मूल्यले उचाई लिएकाे हाे। पछिल्लो समय कुखुराको मासुको मूल्य क्रमिक रुपमा बढिरहकाे छ। राष्ट्रिय कुखुरा व्यवसायी संघले मंगलबारदेखि बजारमा लागु हुने गरी जिउँदो कुखुरामा प्रतिकेजी १० रुपैयाँ र मासुमा प्रतिकेजी १० रुपैयाँ बढाएको छ।

सोमबारसम्म बजारमा जिउँदो कुखुरा प्रतिकेजी २ सय ८० र तयारी मासु प्रतिकेजी ३ सय ९० रुपैयाँमा बिक्री हुँदै आएको थियो। यसअघि जिउँदो कुखुरा प्रतिकेजी २ सय ७० रुपैयाँसम्म पुगेको थियो । मासु प्रतिकेजी ३ सय ९० रुपैयाँमात्र तोकिएको थियो। संघले मूल्य बढाएसंगै अब मासुको उपभोक्ता मूल्य चार सय रुपैयाँ पुगेकाे छ।

गत लकडाउनको समयमा ह्याचरी संघले ठूलो परिमाणमा अण्डा, चल्ला र कुखुरा नष्ट गर्दा पनि मूल्य यसरी महंगो भएको थिएन। त्यति बेला प्यारेन्ट कुखुराको आयात भइसकेकोले उत्पादनसँगै बजारमा आपूर्ति सहज थियो। कोभिड पछि प्यारेन्ट कुखुराको आयात रोकिएयता उत्पादन बढ्न सकेको छैन। एक बर्षदेखि प्यारेन्ट आयात नहुँदा र हाल उत्पादन भएका कुखुराहरु रोगका कारण मर्न थालेपछि मूल्य लगातार बढ्न थालेको राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए।

कुखुराकाे मासुकाे मूल्य थप बढ्नसक्ने उनले जानकारी दिए। अहिले आयात भएको प्यारेन्टबाट अण्डा र नयाँ चल्ला उत्पादन हुन करिब ८ महिनासम्म लाग्ने भएकोले मासुको मूल्य बढ्दै जाने उनको बुझाई छ। उनी भन्छन्- ‘केही उत्पादन आउने जाने भइरहेको छ । मासु खपत हुने समय पनि आएको हुनाले मूल्य बढेर कति पुग्छ अहिले नै भन्न नसकिने अवस्था छ।’

गत जेठतिर कोभिडले गर्दा उत्पादन भएका कुखुरा खपत नहुँदा जिउँदो कुखुरा प्रतिकेजी एक सय रुपैयाँसम्म आएको थियो । बजारमा मासुको माग नभएकोले लागत मूल्य उठाउन नसकिने भन्दै कुखुरा पालक किसान र पोल्ट्री फार्मले उत्पादन कम गरेका थिए । जसले गर्दा तराइका जिल्लामा मासु प्रतिकेजी ४ सय ५० रुपैयाँ देखि ५ सय रुपैयाँ पुगेको थियो ।

उक्त समयमा उपत्यकामा उपभोक्ताहरुले खुद्रा मूल्य ३ सय ८० रुपैयाँदेखि ४ सय रुपैयाँमा खरिद गरेका थिए । यति बेला भने थोकमा ४ सय रुपैयाँ पुग्दा उपभोक्ताहरुले ४ सय २० रुपैयाँदेखि ४ सय ५० रुपैयाँसम्ममा खरिद गर्नु पर्ने अवस्था छ। यसै पनि बजारमा मासु पसलै पिच्छे मूल्य फरक फरक पर्ने गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्