वर्तमान व्यवस्था असफल भइसक्‍यो, अब नयाँ व्यवस्थामा जानुपर्छ : राजेन्द्र लिङ्देन

Rajendra_lingden
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् राजेन्द्र लिङ्देनले यो व्यवस्था असफल भइसकेकोले अब नयाँ विकल्पमा जानुपर्ने बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले अब राजसंस्थालाई पनि समेटेर नयाँ व्यवस्थामा जानुपर्ने बताए। सिके राउत र नेत्रविक्रम चन्दलाई मूलधारको राजनीतिमा ल्याउन सफल भएकोप्रति सरकारलाई धन्यवाद समेत दिए।

‘आज जुन अस्थिरताको सामना गरिरहेका छौं। यो प्रणाली असफल भयो,’ उनले भने, ‘अहिलेकै व्यवस्थामा, हामीले सरकार परिवर्तन या नयाँ निर्वाचन जुन बाटो अवलम्बन गरे पनि यो अस्थिरताको अन्त्य गर्न सकिन्छ ? जुन बाटो रोजे पनि यही अस्थिरता र भ्रष्टाचारको निरन्तरता हो। वैदेशिक हस्तक्षेपको निरन्तरता हो। मुलुकले अहिलेको असफलताबाट शिक्षा लिएर नयाँ सम्झौता गर्ने बेला आएको छ।’

उनले अगाडि भने, ‘वर्तमान सरकारसँग मेरो धेरै विमति भए पनि गत वर्ष सिके राउत र यो वर्ष विप्लवलाई मुलधारमा ल्याउने कामप्रति धन्यावाद दिन चाहन्छु। अब राष्ट्रिय एकता कायम गर्ने हो भने यतिले मात्रै पुग्दैन। सिके र विप्लवको मात्रै कुरा होइन। राजस्थालाई पनि स्थान दिए एकता कायम गरौं। सबै राजनीति दलहरूलाई आग्रह गर्न चाहन्छु। देशलाई शान्तिको बाटोमा लैजाने हो भने पाखा लगाइएको शक्तिको रूपमा रहेको राजसंस्थालाई स्थान दिएर जाऔं। कार्यकारीणी प्रधानमन्त्रीको व्यवस्था गरौं। देशलाई नयाँ बाटोबाट लैजाऔं भनेर आग्रह गर्न चाहन्छु।’