सिड्नी। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले अस्ट्रेलियामा समानान्तर कमिटी घोषणा गरेको छ। जिल्लादेखि केन्द्रसम्म समानान्तर कमिटी गठन गर्ने घोषणा गरेको यो पक्षले अस्ट्रेलियामा पनि समानान्तर कमिटी घोषणा गरेको हो।
नेपाल-खनाल समूहको प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको अध्यक्षमा राजनकुमार बस्नेतलाई चयन गरेको छ। उपाध्यक्षमा माधव शाह, प्रकाश सेढाई र लक्ष्मण श्रेष्ठ गरी तीन जनालाई चयन गरेको छ। त्यसैगरी महासचिवमा अच्युत शर्मा थपलिया, सचिवमा नरेश थापा, कोषाध्यक्षमा पूर्ण लामिछाने र पब्लिक अफिसरमा सिके भुसाललाई चयन गरेको छ।
हरेराम चन्द्र राउत प्रवत्ता तोकिएको मञ्चको सदस्यहरूमा ध्रुव सुवेदी, कमल देवकोटा, हरिलाल लामिछाने, अग्निधर भण्डारी, वीरेन्द्र उदास, किशोर कुँवर, राजु मानन्धर, प्रकाश राया, राजकुमार केसी, सुवास रानाभाट, किरण पौडेल, रमेश पौडेल, बिबेक अर्याल, उद्धव खड्का, शङ्कर धरेल, तारालाल लामा, दामोदर रावल, रमेश सोडारी, अवनिश नेपाल, पविता मैनाली, मनसून राई र दीपिका तामाङ रहेका छन् ।
प्रवक्ता हरेराम चन्द्र राउतले सार्वजनिक गरेको विज्ञप्तिमा नयाँ कार्यसमितिको चयन गरिएको जानकारी दिइएको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाउँदै एकताको विरोधी संज्ञा समेत दिइएको छ। विज्ञप्तिमा केपी ओली भँगेराको भन्दा सानो छाती भएको साँघुरो घेराबन्दी भित्रबाट चल्ने एक प्रतिशोधी र सानो चित्त भएको एकांकी नेताको रूपमा देखा परेको आरोप समेत लगाइएको छ।
‘उनले फागुन २८ गते कथित वैठक राखेर केही निर्णय गरेको हवाला दिँदै पार्टीको एकाधिकार आफूमा निहित रहेको गैरकम्युनिष्ट चरित्र प्रदर्शन गर्दै अवैधानिक तवरवाट अगाडि बढेपछि पार्टीमा नयाँ परिस्थिति देखा पर्यो । नेकपा एकता अगाडिको अवस्थामा पुग्नभन्दा आफनो मनमौजी चलाउनतिर केपी ओली लागेपछि पार्टीभित्र ओलीको कटु आलोचना भइरहेको छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि नेपालमा नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भई नेकपा बनेपछि अस्ट्रेलियामा प्रवासी नेपाली एकता मञ्च र नेपाली जनप्रगतिशील मञ्च एक भएका थिए।



लोकपाटी न्यूज

