मुख्यमन्त्री महेन्द्र शाहीलाई तत्काल राजीनामा दिन संसदीय दलका नेता कँडेलकाे आग्रह

लोकपाटी न्यूज

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेशका संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई तत्काल राजीनामा दिन आग्रह गरेका छन्। अल्पमतमा परिसकेको सरकारको नेतृत्वमा रहन शाहीलाई नैतिकताले नदिने भन्दै कँडेलले तत्काल राजीनामा दिन आग्रह गरेका हुन्।

उनले  भने, ‘महेन्द्रबहादुर शाही नेतृत्वको सरकार आजबाट अल्पमतमा परिसकेको छ। त्यसैले नैतिकताका आधारमा शाहीले तत्काल राजीनामा दिनुपर्छ। तीन वर्षदेखि हुँदै आएको अलमल अब समाप्त हुनुपर्छ।’ नेकपा एमाले नेपाल–खनाल समूहले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका हुन्। ओली पक्षले भने यसअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

आइतबार नेपाल–खनाल समूहसहित बसेको एमाले संसदीय दलको बैठकले एमालेका मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाएर समर्थन फिर्ता लिने निर्णय गरेपछि शाही नेतृत्वको सरकार अल्पमतमा परेको हो। एमालेबाट प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढा मन्त्री छन्।