काठमाडौँ। वर्तमान सरकारको विकल्पबारे निचोड निकाल्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। नेता पौडेल ठाकुरसँग भेट्न आइतबार दिउँसो कौसलटारस्थित ठाकुरको निवास पुगेका थिए। ठाकुरले प्रधानमन्त्री केपी ओलीसँग यसअघि भएका वार्ताबारे पनि जानकारी गराएका थिए। मधेसका माग सम्बोधन गर्ने मुद्दामा प्रधानमन्त्री ओलीसँग वार्ता गरेको ठाकुरले बताएका थिए।
पौडेलले भने ओलीको विस्थापनका लागि जसपाको निर्णायक भूमिका हुने भन्दै ठाकुरलाई महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका थिए। सरकारको विकल्पबारे साझा धारणा बनाउन पौडेलले ठाकुरसँग कुराकानी गरेको उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले अन्नपूर्ण अनलाईनलाई बताए। चिरञ्जिवी अधिकारीका अनुसार पौडेलले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओली सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिसकेपछि पनि त्यही पदमा बस्नु अनैतिक हुने बताएका थिए।
साथै अनैतिक सरकारबाट लोकतन्त्र र व्यवस्था दुवैमाथि खतरा बढेको भन्दै संविधान जोगाउन पनि लोकतन्त्र र संविधानका पक्षधरहरु एकजुट हुनपर्ने पौडेलको भनाइ थियो।



लोकपाटी न्यूज

