भोलि प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

लोकपाटी न्यूज

काठमाडौं। सोमबार बस्ने प्रतिनिधिसभा बैठकका लागि सम्भावित ३ कार्यसूची तय गरिएको छ। संघीय संसद सचिवालयले आइतबार प्रकाशन गरेको सम्भावित कार्यसूचीमा संसदीय समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक कार्यसूची पेश गर्ने सम्भावित कार्यक्रम तय गरिएको छ।

सम्भावित कार्यसूचीअनुसार भोलिको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६र७७ को वार्षिक प्रतिवेदन पेस गर्नुहुनेछ । यसका साथै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, ०७७ पेस गर्नेछन्। यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेस गर्ने कार्यक्रम रहेको छ।

बैठक भोलि दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। संघीय संसद सचिवालयका अनुसार यतिबेला ३६ विधेयक विभिन्न प्रक्रियामा रहेका छन्। केही विधेयकहरु संसदीय समितिबाट पास भएर प्रतिनिधिसभाको बैठकमा पेश गर्नका लागि तयारी अवस्थामा रहेपछि सरकारले चासो नदिँदा अलपत्र परेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्