वामदेवलाई जस्तै मलाई पनि चुनावमा हराउन खोजेका थिए ओलीले : माधव नेपाल

madhav-nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूलाई वामदेव गौतमलाई जसरी चुनावमा हराउन खोजेको आरोप लगाएका छन्। काठमाडौंमा आफ्नो समूहको समानान्तर कमिटी गठन कार्यक्रममा नेता नेपालले ओलीले आफूलाई गत प्रतिनिधि सभाको निर्वाचनमा हराउन खोजेको आरोप लगाएका हुन्।

नेता नेपालले भने, ‘काठमाडौंको २ नम्बर क्षेत्रमा उम्मेदवार हुँदाखेरी केपी ओलीका मान्छेले मलाई चुनाव हराउन खोजेका थिए। मलाई हराउनका लागि मेरो सामुन्ने नै प्रयत्न गरेका थिए। आफ्नो पक्षको उम्मेदवारका पक्षमा पर्चा बाढ्दै र भोटमाग्दै हिँडेका थिए। माधव नेपालको त नामैले, अनुहारले नै भोट आइहाल्छ नि किन बाड्नु पर्यो पर्चा, किन माग्नु पर्यो भोट भन्थे।’

नेता नेपालले वामदेव गौतमलाई बर्दियाबाट चुनाव हराउने व्यक्ति केपी शर्मा ओली नै भएको आरोप समेत लगाए। उनले वामदेव गौतम पनि पार्टीभित्रकै अन्तविरोधका कारण चुनाव हारेको र ओली पक्षले नै हराएको दावी गरे। ‘वामदेव गौतम त्यही कारणले हार्नुभएको हो, हराइएको हो थाहा छ तपाईंहरुलाई,’ नेपालले भने, ‘विभिन्न व्यक्तिहरुलाई विभिन्न ठाउँमा हराउनका लागि उहाँले भूमिका खेल्नुभयो। त्यसमध्ये पनि सबैभन्दा पहिला जो प्रधानमन्त्रीको प्रत्यासी हुन्छ त्यसको पत्तासाफ गरिदिने योजनामा उतिबेलैदेखि लाग्नुभएको थियो।’