एमाले पुनर्गठन अभियानः काठमाडौं जिल्ला समितिको घोषणा आज

Nepal_Khanal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले आज काठमाडौं जिल्ला समितिको घोषणा गर्दैछ। आइतबार दिउँसो १२ः३० बजे जिल्ला कमिटी घोषणा कार्यक्रम राखिएको छ। एमाले नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिएकी छन्।

एमाले नेतृ अष्टलक्ष्मी शाक्यले काठमाडौंको बुद्धनगर पार्टी प्यालेसमा काठमाडौं जिल्ला समिति घोषणा गर्न लागिएको जानकारी दिइन्। कार्यक्रममा एमाले वरिष्ठ नेता खनाल र नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यही २४ गते बागमती प्रदेश कमिटी घोषणा गरिने जानकारी नेतृ शाक्यले दिइन्।

शनिबार बसेको खनाल-नेपाल पक्ष निकट स्थायी समिति सदस्यहरुको बैठकले एमाले पुनर्गठन अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। यही चैत १५ देखि आउँदो असार १५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकले अभियानको कार्ययोजनाको ढाँचासमेत तयार पारेको छ।

तीन महिने अभियानमार्फत् छिन्नभिन्न भएको पार्टी संगठन र जनसंगठनहरुलाई व्यवस्थित बनाउने, जवजको मूल्य मान्यताको रक्षा गर्दै पार्टीको एकाधिकारवाद, गुटवाद र विभाजनबाट बचाउँदै लोकप्रिय क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका रुपमा विकास गर्न पहल गर्ने योजना उनीहरुको छ। अभियान अन्तर्गत नै उनीहरुले नेकपा एमालेको छुट्टै फेसबुक पेज बनाउने र देशभरका गतिविधि बुलेटिनमार्फत् सार्वजनिक गर्ने समेत योजना बनाएका छन्।

यस्तै उनीहरुले एमालेको केन्द्रीय कार्यालय काठमाडौंमा यथाशीघ्र स्थापना गर्ने र त्यसको व्यवस्थापनका लागि एउटा कार्यालय टिम बनाउने निर्णयसमेत गरेका छन्। मेची महाकाली युवा विद्यार्थी अभियान सञ्चालन गर्ने, जेठ ३ गते मदन भण्डारी र जीवराज आश्रितको हत्या भएको २७औँ स्मृति दिवसका अवसरमा चितवनमा विशेष कार्यक्रम गर्ने अभियानअन्तर्गत योजना उनीहरुको योजना छ।