काठमाडाैँ। राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता भलनाथ खनालसँग भेटवार्ता गरेकी छन्। शनिवार दिउँसो डल्लुस्थित खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
भेटमा अहिलेको समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत कुराकानी भएको पूर्व प्रधानमन्त्री खनालले बताए। खासगरी राष्ट्रपति भण्डारी खनालको छिमेकमा रहेका इतिहास संशोधन मण्डलका अध्येता एवं प्रबद्र्धकहरू दिनेश पन्त र महेश पन्तको घरमा पुगेका र सोही क्रममा आफ्नो घरमा समेत भेट्न आएका खनालले बताए।
भेटमा राष्ट्रपति भण्डारीले पार्टीमा देखिएको विवाद समाधान भएर जाओस् भन्ने चाहना रहेको बताएका पनि पूर्व प्रधानमन्त्री खनालले बताए। उनले भने, ‘हामीले एकछिन भलाकुसारी गर्यौं। विगतका कुराहरू पनि हामीले गर्यौं। अहिलेको वर्तमान स्थितिको बारेमा पनि अलिकति कुराकानी गर्यौं। उहाँले पार्टी आन्दोलन एकतावद्ध भएर जाओस्, लोकतन्त्र राम्रो भएर जाओस्, सुदृढ भएर जाओस्, मेरो राष्ट्रपतिको हैसियतले यही चाहना छ भन्ने कुराहरू व्यक्त गर्नुभयो।’
भेटमा आफ्नो स्वास्थ्यप्रति पनि राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरेका खनालले बताए। तर आफूले आफ्नो स्वास्थ्यभन्दा पनि पार्टी र कम्युनिस्ट आन्दोलनबारे चिन्ता लागेको कुरा राखेको बताए। ‘हाम्रो आफ्नो व्यक्तिगत स्वास्थ्यको बारेमा मलाई चिन्ता होइन चिन्ता चाहिँ पार्टीको बारेमा लागेको छ, कम्युनिस्ट आन्दोलनको स्वास्थ्यको बारेमा चिन्ता छ। अब यस्तो अहिले पार्टीमा कतिपय समस्याहरू उत्पन्न भइरहेको बेलामा यहाँ आउनुभएको छ। सबै पार्टीहरू बलिया भए, सुदृढ भए एकतावद्ध भए भने मात्रै लोकतन्त्र बलियो हुन्छ।
लोकतन्त्र बलियो हुनु भनेको हाम्रो बहुदलीय व्यवस्था अथवा लोकतान्त्रिक गणतन्त्र बलियो हुनु भनेको पार्टीहरू बलियो हुने कुरा हो। पार्टी बलियो नभइकन लोकतन्त्र बलियो हुँदैन, त्यसकारण कसरी पार्टीलाई बलियो बनाउने भन्ने कुरामा म पनि सोचिरहेको छु। राष्ट्रपतिज्यूले पनि के भन्नुभयो भने तपाईंले भनेजस्तो लोकतन्त्र बलियो बनाउनलाई पार्टीहरू नै बलियो हुनुपर्छ। सबै पार्टीहरू बलिया हुन, एकीकृत पार्टी पनि सकेसम्म नफुटोस् र नेकपा एमाले पनि बलियो होस् भन्ने नै मेरो चाहना रहेको हो। तपाईंहरू अहिले पनि सकेसम्म मिलेर जानुहोस् भन्ने सुझाव दिनुभयो।’



लोकपाटी न्यूज

