काठमाडौं। नेकपा एमाले नेपाल समूहले ओलीविरुद्घ देशव्यापी प्रतिकार गर्ने तयारी गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनालाई पार्टीबाट ६ महिनाका लागि निष्कासन गरेपछि उक्त समूहले यस्तो तयारी गरेको हो। नेता नेपालसहित नेकपा एमालेका ११ जना स्थायी कमिटी सदस्यले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्घ देशव्यापी रूपमा सक्रिय हुन पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई अपिल गर्दे प्रतिकारको तयारी गरेका हुन्।
शुक्रवार साँझ जारी गरिएको संयुक्त विज्ञप्तिमार्फत नेपाल समूहले कार्यकर्तालाई देशव्यापी सक्रिय हुन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेपछि यस्तो अपिल गरेका ११ जनाले तीन दिनपछि फेरि त्यही आह्वान गरेका हुन्।
नेपाल समूहले प्रधानमन्त्री ओलीले बाह्य शक्तिको आडमा देश, जनता र पार्टीप्रति घात गरेको आरोपसमेत लगाएका छन्। नेपाल समूहद्वारा जारी गरेको अपिल अनुसार नेकपा एमाले एकीकरणपूर्वको स्थितिमा पुनः स्थापित भएपछि हामीले यसका केन्द्रदेखि स्थानीय तहसम्मका सबै संगठनात्मक संरचनाहरू तथा जनसंगठनहरूलाई पूर्ववत् क्रियाशील गर्न प्रस्ताव गरेका थियौँ भन्दै विधि र पद्धतिसम्मत किसिमले पार्टीलाई अघि बढाउँदै विगतका कमी कमजोरीहरूको यथासमयमा समीक्षा गर्नुका साथै कम्युनिस्ट पार्टीहरूको एकता र सहकार्यलाई आत्मसात् गर्न आग्रह गरेका बताएका छन्।
पार्टी अध्यक्ष पदमा रहेका केपी शर्मा ओलीबाट त्यो कुरा स्वीकार्य नभएको र उल्टै गत फागुन २८ गते कुनै जानकारी नै नदिई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफ्नो गुटको भेला गरी पार्टी विधानको ठाडो उल्लंघन गर्दै नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरेकोमा आलोचना गरेका छन्।
साथै विज्ञप्तिमा भनिएको छ, ‘कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाइयो। यसका साथै केन्द्रीय कमिटीको सदस्य पद रिक्त नै नरहेको अवस्थामा पार्टीको विधान मिचेर नेकपा एमालेको सदस्य नै नरहेका व्यक्तिहरूलाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गरेको भनी सार्वजनिक गरिएको बताउँदै अवैध निर्णय रद्द गरी नेकपा एमालेलाई पूर्ववत् स्थितिमा क्रियाशील बनाई अगाडि बढ्न केपी शर्मा ओलीसँग पार्टी केन्द्रीय कार्यकालमा भएको वार्ता लगायत विभिन्न किसिमले भएका कुराकानीमा आग्रह गर्यौँ। तर, पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई प्रतिक्रियावादीहरूको षडयन्त्रपूर्ण प्रहारबाट जोगाउने हाम्रो प्रस्ताव व्यक्तिगत स्वार्थ, अहंकार, अराजकता र कम्युनिस्ट आन्दोलनको विसर्जनतर्फ उन्मुख केपी शर्मा ओलीलाई मान्य भएन। नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित सिद्धान्त, नीति, विधान र संगठनात्मक प्रणालीको रक्षाको लागि यही चैत्र ४ र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गर्न हामी बाध्य भयौँ।’



लोकपाटी न्यूज

