काँग्रेस केन्द्रीय समितिको अर्को बैठक शुक्रबार बस्ने

फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय समितिको अर्को बैठक एक हप्तापछि बस्ने भएको छ।नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अर्को बैठक चैत २७ गते शुक्रवार बस्ने निर्णय भएको बताए।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे थप छलफल गर्न शुक्रवार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको शर्माले जनाए।

शुक्रबार बसेको काँग्रेस केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने अग्रसरता लिने निर्णय गरेको थियो।

दिउँसो २ बजेका लागि बोलाइएको बैठक राति पौने ८ बजेमात्र सुरु भएको थियो। बैठक राति साढे १० बजेसम्म चलेको थियो। एजेन्डा तय गर्नका लागि पदाधिकारीबीच लामो रस्साकस्सी चल्दा बैठक ढिला भएको थियो।

पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलालगायतका नेताहरुको लामो छलफलपछि प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग्ने सहमतिमा नेताहरु पुगेका थिए।