काठमाडाैँ। नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल समूहका ११ नेताले संयुक्त वक्तव्य निकाल्दै पार्टी अध्यक्ष केपी ओलीको चर्को आलोचना गर्दै पार्टीका ४ नेताहरुमाथि भएको कारबाहीको विरोध गरेका छन्।
विज्ञप्तिमा ओलीबाट देश, जनता र पार्टीको हित विपरितका क्रियाकलाप भएको भन्दै पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढताका साथ एकताबद्ध रुपमा संगठित भइ देशव्यापी रुपमा सक्रिय हुन नेता कार्यकर्तामा सो समूहले विज्ञप्तिमार्फत आग्रह गरिएको छ।
नेपालपक्षले एमालेमा समानान्तर संगठन र संरचनाको अभ्यास अघि बढाइसकेको छ। जिल्लाहरूमा समानान्तर कमिटी निर्माणले तीब्रता पाएको छ भने जनवर्गीय संगठनहरुमा यसअघि नै त्यो अभ्यास भइसकेको छ। यसअघि नेपाल पक्षले काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेलासमेत गरेको थियो।
त्यो भेलामा नेता नेपालले प्रस्तुत गरेको राजनीतिक दस्तावेजमाथि आएका सुझावहरु समेटेर दस्ताबेज नै कार्यकर्तामाझ पुर्याउने तयारीमा समेत नेपाल पक्ष छ। शुक्रबारको बैठकमा नै यसबारे छलफल भएको स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए। अर्का एक स्थायी कमिटी सदस्यले दस्तावेज देशभरका कार्यकर्तामाझ पुर्याउने तय भइसकेको जानकारी दिए।
शुक्रबारको स्थायी कमिटी बैठकले एमालेको संगठन सुदृढीकरणसहित राष्ट्रव्यापी कार्यक्रमको स्वरुप तयार गर्ने तय गरेको छ। यसबारे ठोस निर्णय शनिबार हुने बताइए पनि पार्टीको प्रशिक्षण भेला वा गोष्ठीबाट एउटा निष्कर्षमा पुग्ने यो पक्षको तयारी छ।





लोकपाटी न्यूज

