संगठन विस्तार र सुदृढीकरण अभियान संचालन गर्ने नेपाल समूहको निर्णय

madhav nepal team
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको माधवकुमार नेपाल समूहले संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान सुरु गर्ने भएको छ। नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले संगठन विस्तार र सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरेको हो। यो समूहले राष्ट्रिय भेलाबाट पारित भएको राजनीतिक प्रतिवेदनलाई कार्यकर्ता माझ लैजाने भएको छ।

बैठकले अध्यक्ष केपी शर्मा ओली नै पार्टी विभाजन गर्न उद्यत रहेको निश्कर्ष निकालेको छ। स्थायी कमिटी सदस्य योगेश भट्टराईले बैठकले सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि ओलीले गरेको कारबाहीलाई स्वेच्छाचारी, पार्टीको नवौं महाधिवेशनको विधानविपरीत र पूर्वाग्रही भएको ठहर गर्दै भत्र्सना र निन्दा गरेको जानकारी दिए।

एमाले अध्यक्ष ओलीले बिहीबार नेताद्वय भुसाल र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए। यसअघि संस्थापन पक्षले चैत १६ गते वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि पार्टीबाट निलम्बन गरेका थिए। नेपाल समूहले एमाले पुनर्जिवित गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न पार्टी अध्यक्ष ओलीलाई आग्रह गर्दै पार्टी एकता रक्षा गर्न र यसको पक्षमा जनमत निर्माण गर्न देशभरका कार्यकर्तालाई अपील गरेको छ।