सिंगटी हाइड्रोकाे आईपीओ आउँदो शुक्रबार बाँडफाँड हुने

IPO Icon
लोकपाटी न्यूज

काठमाडौं। सिंगटी हाइड्रो इनर्जी लिमिटेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ) आउँदो शुक्रबार बाँडफाँड हुने भएको छ। धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडका अनुसार सिंगटी हाइड्रोको आईपीओको प्रि-अलटमेन्टको काम भइरहेको छ।

‘सकभर आगामी साता मंगलबारसम्म प्रिअलटमेन्ट सकिन्छ होला’, क्यापिटलका एक अधिकारीले भने, ‘प्रिअलटमेन्ट मंगलबार सकेर आगामी साता शुक्रबारसम्म आईपीओ बाँडफाँड गर्ने योजना बनाएका छौँ। कम्पनीको आईपीओमा १६ लाख २६ हजार ९०० आवेदकले २ करोड ४७ लाख ६७ हजार ८५० कित्ता सेयर माग गर्दै आवेदन दिएका छन्।

कम्पनीले चैत ६ गतेदेखि प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका २९ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो। जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि सुरक्षित गरेर २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरेको हो।

यसअघि, पहिलो चरणमा आयोजना प्रभावित दोलखाका स्थानीयलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीको बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ। आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको जनाउँछ।

धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार सबै आवेदकलाई १० कित्ता वा सोभन्दा बढी पर्ने भएमा १० ले भाग जाने गरी बराबर रुपमा बाँडफाँड गर्नुपर्ने हुन्छ। सबै आवेदकलाई १० कित्ता नपर्ने भएमा आवेदकमध्येबाट गोलाप्रथा गरी जतिलाई पुग्छ, १० कित्ताको दरले बाँडफाँड गर्नुपर्छ। सिंगटी हाइड्रोले सर्वसाधारणको लागि निष्कासन गरेको २६ लाख ९७ हजार कित्ता आईपीओ गोलाप्रथाबाट १० कित्ताको दरले भाग लगाउँदा २ लाख ६९ हजार ७०० आवेदकले सेयर पाउनेछन्। बाँकी रहेका साढे १३ लाखभन्दा बढीले भने सेयर पाउने छैनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्