काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल पक्षले स्थायी समितिको बैठक बोलाएको छ। बैठक शुक्रबार कलंकी उकालोस्थित मेगा बैंक्वेट पार्टी भेन्युमा बिहान ११ बजे बस्ने गरी बैठक डाकिएको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेताहरुमाथि कारबाही गर्न थालेपछि आगामी रणनीति बनाउन बैठक डाकिएको बताइएको छ। यसबाहेक भोलिको बैठकबाट एमाले पुनर्गठनका लागि देशव्यापी अभियान सुरु गर्ने र राजनीतिक दस्तावेज तल्लो तहसम्मै सकुर्लेट गर्नेबारे ठोस रणनीति बनाउने तयारी छ।
अध्यक्ष ओलीले आफ्नो समूहको उपस्थितिबिना नै विधान संशोधन, केन्द्रीय कमिटीको आकार विस्तार र महाधिवेशन आयोजक कमिटी बनाएपछि खनाल-नेपाल पक्षधर देशव्यापी समानान्तर संरचनामा जाने तयारीमा छन्। अखिल नेपाल महिला संघ (अनेमसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायतमा समानान्तर कमिटी बनाइ सकेका छन्।
भोलि बैठक बसेर थप रणनीति तय गर्ने खनाल-नेपाल समूहको योजना छ। यसअघि ओलीले नेता नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेको थियो। बिहीबार ओलीले नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाको निलम्बन गर्ने निर्णय गरेका छन्। उनीहरुले पार्टी पार्टी विधान विपरीत काम गरेको आरोप ओलीले लगाएका छन्।



लोकपाटी न्यूज

