केपी ओलीले भुसाल र पाण्डेमाथि लगाए ५ आरोप, के-के छन् ?

Surendra_Ghanshyam
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओलीले विभिन्न ५ आरोप लगाउँदै घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन्। दुई नेताले यही चैत १७ गते पेश गेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले उनीहरुलाई कारबाही गरेका हुन्।

ओलीले दुवै नेतासँग चैत ८ गते पहिलोपटक ३ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएका थिए। उक्त अवधिमा स्पष्टीकरण नआएको भन्दै १६ गते पार्टीले पुनः ताकेता गरेको थियो।

यी हुन् ५ बुँदा
१) तपाईले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सदभावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने, उक्त कार्यलाई निरन्तरता दिने स्विकारोक्तिसहित अहंकार र आत्मकेन्द्रीत कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो।

२) स्पष्टीकरणमा सोधिए अनुसार आफ्नो भुलत्रुटीको स्विकारोक्ति नगरेको, कुनै आत्मसमीक्षा नगरिएको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रीत र स्वार्थी प्रवृत्ति प्रष्ट रुपमा देखियो । आफ्नो स्वार्थको लागि देश जनता र पार्टीको हितलाई जस्तो सुकै क्षति पुर्‍याउन तयार भएको आपराधिक मनोवृत्ति प्रष्ट रुपमा थप पुष्टि भएको।

३) आपराधिक कृयाकलापहरु स्विकार्ने, भुल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतीको लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकलापहरु प्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो तपाईले उल्टै स्पष्टिकरण सोध्ने जस्तो अनाधिकृत र हास्यास्पद कार्य गरेको देखियो।

४) तपाईले अहिले पनि पार्टी विरोधी फाटोवादी र गुटगत कियाकलापहरु नेकपा एमालेकै नाममा गरिरहेको र त्यसलाई आगामी दिनहरुमा समेत निरन्तरता दिई रहनेतर्फ अग्रसरता देखिएको, पार्टीका लागि एकताका लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्देश्य तथा मनासायको निम्ति दुरुपयोग गर्ने सम्भावना देखिएको।

५) यस्तै गतिविधिहरु कायम रहेमा तपाईलाई जुनसुकै बेला पनि थप कडा कारबाही गर्नु पर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउदै, यस्ता पार्टीविरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारबाही गर्न भन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु (प्रतिनिधि सभा सदस्य पद बाहेक तथा पार्टी सदस्यताबाटै पार्टीको विधान २०४९ (शंसोधन २०७१ समेत) को धारा ४९(ख) बमोजिम हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको छ।

ओलीले दुवै नेतालाई सच्चिनको लागि यो अन्तिम मौका भएको उल्लेख गर्दै आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सक्ने र यस मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारवाही गर्न सकिने समेत चेतावनी दिएका छन्।