काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक जारी छ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए।
माओवादीले केपी ओली नेतृत्वको वर्तमान सरकारबाट समर्थन फिर्ता लिने अन्तिम तयारी गरेको छ। आजको बैठकमा नयाँ सरकार गठन, पुनरवालेकन निवेदन, सरकारलाई दिएको समर्थन फिर्ता लगायतका विषयमा छलफल हुने बताइएको छ। आजको बैठकबाट समर्थन फिर्ता लिने निर्णय हुनसक्ने स्थायी कमिटीका एक सदस्यले जानकारी दिए।
गत शनिबार नागरिक अगुवाहरूले प्रज्ञा डबलीमा आयोजना गरेको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारबाट समर्थन फिर्ता लिने संकेत गरेका थिए। ‘नैतिकता र राजनीतिक हिसाबले पनि अब धेरै दिन रूक्न सकिन्न,’ प्रचण्डले भनेका थिए, ‘मुलुकको राजनीति जतासुकै जाओस् चाँडै सरकारबाट समर्थन फिर्ता हुन्छ।’
माओवादीका प्रमुख सचेतक देव गुरुङले पनि आगामी २३ गतेभित्र सरकारले संसदमा विश्वासको मत लिनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गुरुङले सर्वोच्चको पछिल्लो फैसलापछि संविधानको धारा ७६ (२) आकर्षित हुने भएकोले फैसला भएको ३० दिनभित्र सरकारले विश्वासको मत लिनुपर्ने जिकिर गरेका थिए।



लोकपाटी न्यूज

