सांसद परियारको प्रश्न : ओलीका ‘कुकार्य’लाई पनि राम्रो देख्ने कस्तो चस्मा हो ?

Laxmi_Pariyar
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसकी सांसद् लक्ष्मी परियारले सरकार पक्षका सांसद्हरूले ’हाम्रो सरकार जिन्दावाद’ भनेकाले त्यसले जनतालाई राम्रो नगर्ने बताएकी छन्। बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोलेकी परियारले त्यसरी प्रशंसा गर्नका लागि प्रधानमन्त्रीले कुन खालको चस्मा लगाइदिएको भन्दै टिप्पणी समेत गरिन्।

’प्रधानमन्त्रीले अहिलेका सरकार पक्षका माननीयज्यूहरूलाई कुन खालको चस्मा लगाइदिनुभएको छ, थाहा छैन। कुन खालको मन दिनुभएको छ, थाहा छैन। जुन प्रधानमन्त्रीज्यूले गरेका प्रतिगमन, असंवैधानिक कदम र सरकारले गरेका कुकार्यहरूलाई पनि भित्र मनबाट प्रशंसा गरेर हिँड्नुभएको छ,’ उनले भनिन्।

परियारले अगाडि भनिन्, ‘उहाँहरूलाई भित्र मनमा त लागेको छ- गल्ती भएको हो। तर बाहिर ओठले भन्दै हुनुहुन्छ- वाह! सरकारले गरेका काम, हाम्रो सरकार जिन्दावाद! यो कहिलेसम्म हो ? यसले जनतालाई राम्रो गर्दैन।’ प्रधानमन्त्रीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर विभिन्न आयोगहरूमा गरिएको नियुक्तिप्रति पनि उनले असन्तुष्टि जनाइन्।

’प्रधानमन्त्रीले संविधानलाई बिर्सेर, संवैधानिक परिषद्को अवमूल्यन गर्दै, आफ्नो खेतबारीमा फलेको बन्दा काउलीलाई जस्तो बाँडेर असंवैधानिक कदमलाई अगाडि बढाउनुभएको छ। विपक्षी दलका नेतालाई ’बायस’ गरेर कामहरू गर्नुभएको छ। त्यो असंवैधानिक हो’, उनले भनिन्।