एमाले र जसपाबीच सत्ता समीकरणको सम्भावना कति ?

KP_Mahantha
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले र जनता समाजवादी पार्टी(जसपा)बीच सत्ता समीकरणको सम्भावना प्रबल देखिएको छ। सरकारले जसपाका माग सम्बोधन गर्न थारू कल्याणकारी सभासँग वार्ता थालेको छ। जसपाको महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीप्रति सकारात्मक देखिएको छ।

जसपाका अध्यक्ष ठाकुरले आफ्ना माग सम्बोधन गर्ने विषयमा सरकारले चालेका कदमप्रति तुलनात्मक रूपमा विश्वस्त रहेको बताए। ‘प्रचण्डजीहरू आइज आइज भन्नुहुन्छ, केही गर्नुहुन्न, न कि पहिला पनि प्रचण्ड सबै माग पूरा गर्छु भन्नुहुन्थ्यो। तर सत्ता हुँदा पनि केही गर्नुभएन,’ अध्यक्ष ठाकुरले भने, ‘ओली त जति गर्न सक्छु गर्छु भन्नुहुन्छ। म उहाँलाई धन्यवाद दिन चाहन्छु।’ उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कुरामा विश्वास गर्ने आधार नभएको बताए।

उनले खाली चेकमा सम्झौता नगर्ने बताए। जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता, संविधान सशोधनलगायत माग पूरा नभएसम्म सरकारको विषयमा छलफल नै नहुने उनको भनाइ थियो। ‘सांसद जेलमा छन्। मन्त्रीलाई मुद्दा लागेको छ,’ ठाकुरले भने, ‘हाम्रो हातखुट्टा बाँधिएको छ। यो फुकुवा भएपछि मात्रै हामी सत्तामा जाने कुरा आउँछ।’

उनले प्रधानमन्त्रीका तर्फबाट सकारात्मक कदम चालिएकोमा धन्यवाद दिए। उनले सबै दलसँग संवाद भने भइरहेको बताए। कांग्रेस, माओवादी केन्द्रसँग कसरी अगाडि बढ्ने भन्ने खाका नरहेको उनले सुनाए। ‘उहाँहरू हाम्रो मागको विषयमा गरुला गरुला भन्नुहुन्छ तर कहिले गर्छौ भन्ने आउँदैन,’ उनले भने।

प्रतिनिधिसभामा एमालेका १२० सांसद छन् भने जसपाका ३२ जना। २७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ३८ जना भए बहुमत पुग्छ। जसपा र एमाले मिले सरकारलाई सुविधाजनक बहुमत हुन्छ। एमालेको माधवकुमार नेपाल पक्षले फ्लोरक्रस गरे वा जसपाका डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समूहले असहयोग गरे पनि एमाले र जसपाको गठनबन्धनलाई बहुमत पुग्ने देखिन्छ। तर, माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छैन। समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा अध्यक्ष ठाकुरको कब्जामा देशको राजनीति रहेको बताए। ‘देशको राजनीति तीन नेताको कब्जामा छ, एउटा यही हुनुहुन्छ (ठाकुर) एउटा बूढानीलकण्ठमा हुनुहुन्छ, अर्को खै कता हुनुहुन्छ (ओली)’, वरिष्ठ नेता पौडेलले भने। पौडेलले लोकतन्त्र जोगाउने/नजोगाउने पनि ओली, देउवा र ठाकुरकै हातमा रहेको बताए। उनले तीन नेताका स्वार्थको कारण देशको राजनीति रुमलिरहेको बताए। उनले सत्ताभन्दा व्यवस्थालाई महत्व दिन आग्रह गरेको अन्नपूर्ण पोस्टले लेखेको छ।

राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले नेताको अन्तरकलहको सिकार देश भएको बताए। संसद्लाई बिजनेस नदिएर अहिले पनि सरकार पुनः विघटनको षड्यन्त्रमा लागिरहेको आरोप केसीले लगाए। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले संसद् कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु रहेको बताए। दलीयकरणका कारण संवैधानिक निकाय कमजोर भएकोले प्रजातन्त्रको रेलिङ भत्किन नदिन मिडिया र नागरिक समाजले दबाब दिनुपर्ने लोहनीको भनाइ थियो।