काठमाडौँ । नेकपा (एमाले)को वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने काम गरिरहेको आरोप लगाएका छन् ।
खनाल-नेपाल समूहका नेताहरूले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै एमालेलाई विभाजनमा ओली लागेको पनि आरोप लगाएका छन्। ‘नेपाली जनताले ५ वर्षका लागि निर्वाचित गरेको प्रतिनिधिसभालाई असंवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा (एमाले) विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्रपूर्ण काम भइरहेका छन्,’ खनाल-नेपाल समूहले जारी गरेको वक्तव्यमा उल्लेख छ।
पार्टीलाई जोगाउने आफूहरूको प्रस्ताव ओलीले अस्वीकार गरेको पनि यो समूहको आरोप छ। ‘हाम्रो प्रस्ताव व्यक्तिगत स्वार्थ, अहंकार, अराजकता र कम्युनिस्ट आन्दोलनको विसर्जनतर्फ उन्मुख केपी शर्मा ओलीलाई मान्य भएन,’ विज्ञप्तिमा अगाडि भनिएको छ।
फागुन २३ गतेको सर्वोच्चको फैसलापछि ओलीले पार्टीभित्र स्वेच्छाचारी गतिविधि अगाडि बढाएको यो समूहको ठहर छ । त्यसैको परिणाम नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई गरिएको कारबाही रहेको भन्दै त्यसको बारेमा विज्ञप्तिमा लेखिएको छ, ‘वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल र उपाध्यक्ष कमरेड भीम रावललाई विभिन्न झुठा लाञ्छना लगाउँदै ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने पार्टीको विधानविपरीत स्वेच्छाचारी कार्य भएको छ। यस्तो कार्य पार्टीभित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी नेकपा (एमाले) लाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशयकै परिणाम हो।’
ओलीले पार्टीभित्र अन्तर्द्वन्द्व चर्काउन दुराशय राखेको पनि खनाल र नेपाल समूहको बुझाइ छ। सरकार भ्रष्टाचारमा लागेको पनि यो समूहको आरोप छ।



लोकपाटी न्यूज

