जसपासँग पार्टी मिलाइपाउँ भनेर निवेदन हाल्छु! : प्रधानमन्त्री ओली

kp_oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन्। मङ्गलवार रिपोर्टस क्लबको वार्षिकउत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले साउन १ गतेदेखि वृद्धभत्ता बढ्ने घोषणा गरेका हुन्।

‘सरकार बनाउने बित्तिकै यो किन गरिएन त्यो किन गरिएन भनेर धुम मच्चाइयो,’ उनले भने, ‘ कसैलाई आपत्ति लाग्ला। साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ।’ सरकारले वृद्धवृद्धालाई हेर्न थालेकोमा मानिसहरूलाई छटपटी लागेको उनले बताए।

उनले नेपालले आफ्नै रेल किनेर सञ्चालन गर्न लागेको पनि बताएका छन्। ‘रेल किनेर ल्याइसकेको छ। सञ्चालन छिट्टै हुन्छ,’ प्रधानमन्त्री ओलीले भने। हुलाकी राजमार्गलगायतका राजमार्ग निर्माणका काम भइरहेको उनले बताए। उनले सडक सबै ठाउँमा पुर्‍याइने भन्दै हुम्लामा पनि छिट्टै सडक पुग्ने बताए।

प्रधानमन्त्री ओली सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकताबाट बनेको नेकपा खारेज गर्ने निर्णय स्वाभाविक भएको बताए। उनले नेकपा खारेज गर्ने निर्णय परीक्षामा फेल भएर उनी कक्षामा फर्किनुजस्तो भएको बताए। उनले नेकपा नाम अर्को पार्टीसँग मिल्न गएका कारण खारेज भएको बताउँदै अर्कोसँग नाम मिल्न जाँदा खारेज हुनु स्वाभाविक भएको बताए।

‘मेरै पार्टीको नामसँग ठ्याम्मै मिल्ने गरी अर्को पार्टी दर्ता गरेर हाम्रो हाम्रो अस्तित्व नामट पार्नै काम भयो, इन्साफ पाऊँ भनेर उसले निवेदन दर्ता गर्‍यो,’ उनले भने, ‘अदालतले फैसला गर्‍यो, ठिकै हो अर्काको नाममा दर्ता गर्न पाइँदैन त्यो दर्ता खारेज भो, दर्ता खारेज भइसकेपछि तपाईँले एउटा क्लास पास गर्नु भयो, अर्को कक्षामा गएपछि जाँच दिनु भयो, फेल हुनुभयो भने फेरि उही क्लासमा फर्किँदैन ? उनी क्लासमा फर्किन्छ।’

ओलीले पार्टी मिलाइदिने काम अदालतको नभएको पनि बताए। उनले अदालतले पार्टी मिलाउने काम गर्ने भए आफू पनि जनता समाजवादी पार्टी एमालेमा मिलाइपाउँ भन्ने मागसहितको निवेदन लिएर अदालत जाने भन्दै व्यंग्य गरे। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको पार्टी नेकपा नाम ऋषि कट्टेललाई दिई दुवै पार्टी ब्युँताउने सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाविरुद्ध पुनरावेदन रिट लिएर सर्वोच्च अदालत पुगेका दिन नै ओलीले उक्त प्रतिक्रिया जनाएका हुन्।

ओलीले भने, ‘पार्टी किन फुटाइदिएको भन्ने निर्वाचन आयोगमा गएर थपक्क पार्टी एकता गर्न कसले रोक्या छ ? एउटै पार्टी गरिपाऊँ! गर न एउटा पार्टी, गर एउटा पार्टी। अदालतले गरिदिने हो एउटा पार्टी ? पार्टी मिलाइदिने काम अदालतको हो ? म पनि महन्थजीको पार्टी मिलाइपाउँ भनेर निवेदन हाल्छु।’ पछिल्लो समय एमाले र जसपाबीच सत्ता समीकरणको चर्चा चलेका बेला एउटै मञ्चमा देखा परेको अवस्थामा ओलीले जसपा अध्यक्ष महन्थ ठाकुरतिर हेर्दै भने, ‘उहाँ र म नमिल्ने अनि अदालतमा गएर महन्थजीको पार्टी मिलाइपाउँ भनेर निवेदन हाल्ने ?’