काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले सरकारले आफ्नो पार्टीले अघि सारेका माग पूरा गर्ने तत्परता देखाएको बताएका छन्। मंगलबार रिपोटर्स क्लबको वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष ठाकुरले जसपाले अघि सारेका सबै माग पूरा गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओली अघि बढेको बताएका हुन्।
उनले प्रधानमन्त्री ओलीले जसपाको माग सम्बोधनको लागि आश्वासन दिएपछि छलफल निरन्तर भएको र निष्कर्षतिर पुग्न लागेको बताए। ‘हामीले कांग्रेस, माओवादी केन्द्र, प्रधानमन्त्री ओलीलगायत सबै नेतासँग भेट गरेका छौं,’ ठाकुरले भने, ‘अहिले गर्छु भनेर कसैले भनेको थिएन। प्रधानमन्त्रीजीले अगाडि नै बढाउनुभएपछि छलफल सकारात्मक भएको छ।’
काँग्रेसका नेता र माओवादी अध्यक्ष प्रचण्डसँग पनि धेरै पटक कुरा भएपनि उधारो आश्वासन मात्रै पाएको उनले बताए। ‘हामीले ब्ल्याङ्क चेक लिन्न भनेका छौं’ ठाकुरको भनाई छ। उनले प्रमुख तीन दल नै आपसमा नमिलेको भन्दै झगडा आफुहरुले नगरेको बताए। ‘हाम्रो झगडा होइन। नेपालको राजनीतिमा स्थिरता छैन। संसद चलिरहेको छ। शोक प्रस्ताव पास भएर सकिन्छ। यो प्रमुख राजनीतिक दलको झगडा हो।’ उनले भने।
यद्यपि सबैसँग छलफल भए पनि आफ्नो पार्टीले कसलाई साथ दिने भन्ने अझै निर्णय नगरेको उनले बताए। ‘यस्तो अवस्थामा हामी कता जाने हो, हामीले सबैसँग काम गरिसकेका छौँ। सुशील कोइराला, शेरबहादुर र प्रचण्डजीसँग पनि हाम्रो माग अघि सारेकै हो। पार्टीहरुबीच अविश्वासको वातावरण छ। प्रदेश सरकारहरुले काम गर्न सकेका छैनन्,’ ठाकुरले भने।
उनले प्रधानमन्त्रीविरुद्ध जान कांग्रेसबाट पटक-पटक प्रस्ताव आएको पनि बताए। ‘प्रधानमन्त्रीको विरुद्धमा जान कांग्रेसका नेताहरुले एलायन्सका कुरा गर्नुभयो, तर हामी प्रधानमन्त्री भएकाले माग पूरा गर्न प्रधानमन्त्री ओली देखिरहेका छौँ’, उनले भने। संघीयता भए पनि केन्द्र सरकारले काम गरेको भन्दै उनले प्रदेशले प्रहरी समेत भर्ना गर्न नसक्ने अवस्था बनेकोमा असन्तुष्टि जनाए।
उनले नेपालको राजनीति अस्थिर बनेको भन्दै संसद् बैठक चले पनि बिजनेस नपाएको बताए। ‘नेपालको राजनीतिमा स्थिरता छैन। संसद छ तर विधेयक पेश भएका छैनन्। पास हुन्छ कि हुँदैन थाहा छैन। अहिले पनि गोली चलिरहेको छ। संसदमा काम भइरहेको छैन,’ ठाकुरले भने।



लोकपाटी न्यूज

