काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले संयुक्त वक्तव्य जारी गरेको छ। स्थायी कमिटी बैठकपछि नेपाल-खनाल पक्षले संयुक्त वक्तव्य जारी गरेको हो। वक्तव्यमा अध्यक्ष केपी ओलीको कारबाहीको कदम नेकपा एमालेलाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशयको परिणाम भएको उल्लेख गरिएको छ।
नेता नेपाल र उपाध्यक्ष भीम रावललाई गरिएको ६ महिनाको निलम्बन पार्टीभित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी नेकपा एमालेलाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशयको परिणाम भएको बताएको नेपाल-खनाल पक्षको ठहर छ। अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न लागेको आरोप लगाइएको छ।
ओलीको पछिल्लो कदमले पार्टी झन विभाजित र अन्यौल बनाएको भन्दै नेता भिम रावलले विधान विपरित आयोजक कमिटी बनाएकाले आफूहरू पनि सबै क्षेत्रमा समानान्तर कमिटि बनाउने जानकारी दिए। अदालतको फैसला अनुसार पार्टी २०७५ जेठ २ को अवस्थामा पुगेको भन्दै अब त्यही अनुसार पुनर्गठन गर्नुपर्ने उनको दाबी छ।
‘पार्टीको विधान विपरित समानान्तर कमिटी गठन भएको छ। केन्द्रीय कमिटीको विघटन र आयोजक कमिटी गठन अवैधानिक छ,’ उनले भने, ‘अब हामी वडा तहसम्मै कमिटी बनाउँछौ। विगतका केन्द्रीय कमिटी, जिल्ला कमिटीदेखि तल्ला तहका सबै कमिटीहरु पुनर्स्थापना हुन्छन्।’
आजको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘अवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा एमाले विभाजित गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्रपूर्ण काम भइरहेका छन्।’
ओलीबाट भएका उक्त प्रकारका देश, जनता र पार्टी हितविपरीतका क्रियाकलापविरुद्ध तथा पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढतापूर्वक संगठित भई देशव्यापी रुपमा सक्रिय हुन उनीहरुले देशभरका नेता कार्यकर्तालाई आग्रह गरेका छन्। नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिस्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेले संयुक्त वक्तव्य जारी गरेका हुन्।




लोकपाटी न्यूज

