काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ। काठमाडौंको कंलकीस्थित एक पार्टी प्यालेसमा नेपाल-खनाल पक्षको बैठक जारी छ। बैठकमा नेपाल-खनाल पक्षका केही केन्द्रीय सदस्य पनि सहभागी छन्।
खनालबाहेक यो समूहका सबै नेता बैठकमा सहभागी छन्। खनाल पनि आउँदै गरेको नेताहरूले बताएका छन्। बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावलमाथि गरेको कारबाहीपछिको अवस्थाबारे छलफल भइरहेको एक नेताले बताए। त्यस्तै बैठकमा देशभर समानान्तर कमिटी बनाएर अगाडि बढ्ने विषयमा पनि छलफल हुने ती नेताको भनाई छ।
‘बैठक अहिले जारी छ, बैठकमा नेताहरु नेपाल र रावलमाथिको कारबाहीपछिको परिस्थिति र अव कसरी अगाडि जाने भन्ने विषयमा छलफल हुन्छ’, ती नेताले भने। अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई सोमबार ६ महिनासम्मका लागि पार्टी सदस्यबाट निलम्बन गरेका थिए। आजको बैठकले पार्टीमा वारपार हुनेगरी निर्णय गरेर जाने बुझिएको छ।
नेपालले सोमबारै सार्वजनिक रुपमै पार्टीभित्रै समानन्तर कमिटी बनाएर गलत प्रवृत्तिकाविरुद्ध लड्ने बताएका थिए। बैठकमा ओलीविरुद्ध रणनीति बनाइने बताइएको छ। नेता नेपालले सोमबार राति पनि सिपी गजुरेल र मोहन वैद्यसँग गोप्य भेटवार्ता गरेका थिए। सो क्रममा ओलीविरुद्ध वृहत मोर्चा बनाउनुका साथै कम्युनिस्ट आन्दोलनलाई ध्रुवीकरण गर्ने सहमति बनेको बताइएको छ।



लोकपाटी न्यूज

