काठमाडौं। सिन्धुलीका एसपी आभूषण तिमल्सिना साढे दुई महिनामै केन्द्र तानिए। रुखो कार्यशैली र अनियमितता बाहिर आएपछि उनलाई हटाएर गत साता गोविन्द थपलियालाई सिन्धुली पठाइयो।
यसअघि बाग्लुङका एसपी लोकेन्द्र श्रेष्ठलाई पनि ६ महिनामै जिल्लाबाट हटाइएको थियो। नेपाल प्रहरीमा तिमल्सिना र श्रेष्ठ यस्ता प्रहरी अधिकृत हुन्, जसले कार्यालय प्रमुखका रुपमा आफ्नो कार्यकाल विरलै पूरा अवधि काम गरेका छन्। तिमल्सिना यसअघि स्याङजा र कैलालीबाट पनि केही महिनामै हटाइएका थिए। इन्सपेक्टरमा दरबारमार्ग हुँदा पनि उनी अनेक काण्डमा परे। तर, उनको कार्यशैली सुध्रिएको छैन।
अन्य जिल्लाका केही एसपीमाथि समेत छानबिन भइरहेको स्रोत बताउँछ। मकवानपुरका एसपी सोमेन्द्रसिंह राठौरलाई पनि प्रहरी प्रधान कार्यालयले स्पष्टिकरण सोधेको छ। क्रसरबाट पैसा उठाउन लागेको र घुुमवा परिचालन गरेर पैसा उठाएको उजुरी माथिल्लो निकायमा पुगेको छ।
त्यस्तै, कपिलवस्तुका एसपी नवराज अधिकारीले पनि तस्करीको सेटिङ मिलाएको भन्दै हेडक्वार्टरमा उजुरी परेको छ। तस्करीमा संलग्न केही व्यक्तिको घरमा गएर उनी जुवा नै खेल्ने गरेको स्रोत बताउँछ। बाँकेका एसपी ओमबहादुर रानाविरुद्ध समेत उजुरी परेपनि गृहमन्त्रीको आशिर्वाद रहेकालाई उनलाई कारबाही हुन सकेको छैन।
उता प्रहरी प्रधान कार्यालयले उपत्यकाका वृत्तका डिएसपीहरु पनि हेरफेर गर्न लागेको छ। बौद्ध तथा अनामनगर वृत्तका डिएसपीको एक वर्ष पुगिसकेको छ। अन्य केही वृत्तका डिएसपीको १० महिना पुगेको छ। दृष्टिबाट साभार



लोकपाटी न्यूज
