वामपन्थी नेता मानन्धरको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त

लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनले नेपालको सिङ्गो किसान आन्दोलन र कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति भएको बताएका छन्। मङ्गलवार शोक वक्तव्य जारी गरेर प्रचण्डले मानन्धरले नेपालको वामपन्थी आन्दोलनमा पुर्‍याएको योगदान सधैँ स्मरणीय रहने विश्वास व्यक्त गरे।

‘२००७ सालमा आफ्नै घरबाट विद्रोहको बिगुल फुक्नुभएका उहाँले २००९ सालको रौतहटको चर्चित किसान आन्दोलनमा अग्रणी भूमिका खेल्नुभएको थियो। कमरेड मानन्धरले नेपालको वामपन्थी आन्दोलनमा पुर्‍याउनुभएको योगदान सधैँ स्मरणीय रहिरहने विश्वास लिएको छु,’ प्रचण्डद्वारा जारी शोक वक्तव्यमा भनिएको छ।

प्रचण्डले मानन्धरप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। विगत एक महिनादेखि पाटन अस्पतालमा फोक्सोको उपचार गराइरहेका नेता मानन्धरको ९१ वर्षको उमेरमा सोमबार साँझ निधन भएको हो। उनले २६ वर्ष नेकपा (संयुक्त)को महासचिव भएर पार्टीको नेतृत्वसमेत गरेका थिए।

नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका उनले २०१० सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। २०६४ सालमा उनले सक्रिय राजनीतिबाट सन्यास लिएका थिए। त्यसपछि गणेश शाहले नेकपा (संयुक्त)को नेतृत्व गर्दै आएका थिए। २०७४ साल असोज २५ गते नेकपा (संयुक्त) र माओवादीबीच एकता भएको थियो। उनको छोरा सुनिल मानन्धर माओवादी केन्द्रका नेता हुन्।

मानन्धरको नेतृत्वको पार्टीले २०४८ सालको निर्वाचनमा संसद्मा चार सिट जितेर तेस्रो ठुलो कम्युनिस्ट पार्टी बनेको थियो। २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा समेत भाग लिएका मानन्धर नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका अग्रज नेता हुन्। कुनै पनि राजनीतिक लाभको पदमा नपुगी बिदा हुने थोरैमध्येका एक नेता उनी हुन्।

रौतहटका जमिन्दार परिवारका मानन्धरले किसान आन्दोलनको अगुवाई गरेका थिए। दिवङ्गत मानन्धरको मङ्गलवार अन्तिम दाहसंस्कार गरिने बताइएको छ।