काठमाडौं। नेकपा (एमाले) का प्रभावशाली नेता जगन्नाथ खतिवडाले पार्टीभित्र अब पहिरो जाने बताएका छन्। सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा खतिवडाले यस्तो बताएका हुन्।
उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाउने अभियानमा लागेको आरोप लगाए। वरिष्ठ नेता खतिवडाले प्रधानमन्त्री ओलीले देशैभरि समानान्तर कमिटी बनाउने काम गरेको भन्दै आलोचना गरे।
यसअघि नेता नेपालले नभएर बहुमत केन्द्रीय कमिटी सदस्यहरुले ओलीलाई कारबाही गरेको उनले बताए। तर, अहिले ओलीले गरेको निर्णय सबै अवैधानिक रहेको पनि उनले दावी गरे। अहिले ओलीले बनाएको कमिटी अवैद्य रहेको खतिवडाले टिप्पणी गरे।
उनले अध्यक्ष ओलीले जतिसुकै निर्णय र कारबाहीगरे पनि आफूहरुले त्यसलाई खारेज गर्ने उद्घोष गरे। उनले विधानभन्दा बाहिर गएर गरेको निर्णय तथाकथित पाखण्डमात्रै भएको टिप्पणी गरे। उनले आफूहरु राजनीतिमा कमजोर नभएको बताए। सत्यको शक्ति माधव नेपाल पक्षसँग रहेको र बेईमानीको शक्ति केपी ओलीसँग रहेको पनि उनको उनले बताए। उनले अन्ततः केपी ओली हार्ने र माधव नेपालको जित हुनेपनि दावी गरे।



लोकपाटी न्यूज

