कोटेश्वरमा प्रचण्ड-नेपालको भेट, के भयो छलफल ?

Prachanda_Nepal_Nekapa
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। अध्यक्ष प्रचण्ड र नेता नेपालबीच सोमबार दिउँसो करिव २ घण्टा कोटेश्वरस्थित एक घरमा भेटवार्ता भएको हो।

भेटमा माओवादी केन्द्रको तर्फबाट प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ र नेपालसँगै भीम रावल गएका थिए। भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको दुवै नेता निकट श्रोतहरुले बताएका छन्। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र संसद बैठक स्थगित गर्ने चर्चा भइरहेका बेला नेताद्वयबीच भएको भेटवार्तालाई अर्थपूर्णरूपमा हेरिएको छ।

यसअघि चैत १२ र १३ गतेपनि प्रचण्ड र नेपालबीच भेट भएको थियो। अध्यक्ष प्रचण्डले शनिबार काठमाडौमा भएको एक कार्यक्रममा केही दिनभित्रै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने बताएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि एमाले नेता नेपाल पक्ष र प्रचण्ड पक्षले त्यसविरुद्ध आन्दोलन गरेका थिए।

सर्वोच्चको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापना भएपनि सरकारले बिजनेस नदिँदा कामविहिन हुदै आएको छ। फाल्गुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको नाम ऋषि कट्टेलको पक्षमा फैसला गरेर एमाले-माओवादीलाई पुरानै अवस्थामा फर्काएकाले पुनरावलोकनमा कसरी जाने/ के गर्ने, सरकार गठन र समसामयिक राजनीतिक घटनाक्रमको विषयमा दुई पक्षबीच सोमबार छलफल भएको नेपालनिकट स्रोतले जनाएको छ।

यस अगाडि नै माओवादी केन्द्रको स्थायी समिति बैठकले सर्वोच्चको फैसला राजनीतिक आग्रहपूर्ण भएको ठहर गर्दै पुनरावलोकनमा जाने निर्णय गरिसकेको छ। सर्वोच्च अदालतले नेकपामा आवद्ध एमाले र माओवादी केन्द्रलाई पहिल्यैको अवस्थामा फर्काइदिएपछि दुवैपक्ष आ-आफ्नो कित्तामा फर्किएका छन्। यता एमालेमा माधव नेपाल समूहमा नेताहरु र ओली पक्षबीच असमझदारी बढ्दै गएको छ।

पार्टी हित विपरित काम गरेको भन्दै नेकपा (एमाले)ले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको थियो। माधवकुमार नेपालले स्पष्टीकरणमार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै उल्टै आरोप लगाएका छन्। महाधिवेशन आयोजक समिति अवैधानिक किसिमले गठन गरिएको आरोप उनीहरुको छ। जसले गर्दा पार्टी भित्र थप संकट उत्पन्न भएको छ।