काठमाडौं। सरकारले रेशम चौधरी लगायतका बन्दीहरुको रिहाईको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ता गर्न टोली गठन गरेको छ। गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा गठित वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य छन्।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार थारु कल्याणकारी सभा, थरुहट÷थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय संघर्ष समितिले राखेको १९ बुँदे माग सम्बोधन गर्न वार्ता टोली गठन गरिएको छ।
टोलीले जेलमा रहेको सांसद् रेशम चौधरी नेतृत्वको टोलीसँग वार्ता गर्नेछ। थारु कल्याणकारी सभा एवं केन्द्रीय आन्दोलन परिचालन समितिले केही दिन अघि मात्रै सांसद् चौधरीको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।
केपी शर्मा ओली नेतृत्वको सरकारलाई माओवादी केन्द्रले समर्थन फिर्ता गर्न लागेसँगै ओलीले सरकारमा रहनका लागि अनेक उपाय अपनाइरहेका छन्। जनता समाजवादी पार्टीले आफ्ना माग पूरा भए सरकारलाई समर्थन दिने स्पस्ट पारेपछि सरकारले पनि थारु कल्याणकारी सभासँग वार्ता गर्न टोली गठन गरेको हो। सञ्चारमन्त्री गुरुङका अनुसार आजै थारु कल्याणकारी सभासँग वार्ता हुनेछ।



लोकपाटी न्यूज

