भारतमा पाँच महिना यताकै उच्च कोरोना संक्रमित, नेपालमा जोखिम बढ्यो

Corona_Test
लोकपाटी न्यूज

एजेन्सी। पछिल्लो २४ घण्टामा भारतमा ६८ हजार भन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार यो गत वर्ष अक्टोबर पछिकै सबैभन्दा उच्च संख्या हो।

सोमबार थपिएको संक्रमितको संख्यासँगै भारतका कुल कोरोना संक्रमितको संख्या १ करोड २० लाख भन्दा धेरै भइसकेको छ। यसमा सक्रिय संक्रमितको संख्या ५ लाख भन्दा धेरै रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा त्यहाँ २ सय ९१ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ।

योसँगै भारतमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६१ हजार भइसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। भारतमा संक्रमण बढेसँगै नेपालमा पनि जोखिम बढेको छ।

भारतबाट नेपाल भित्रिनेको संख्या बढेसँगै सीमामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ। स्थानीय सरकारले सीमानामा हेल्थ डेस्कको स्थापना गर्दै ज्वरो नाप्ने र कोरोनाको एन्टिजेन परीक्षणको पनि व्यवस्था गरिएको छ। यद्यपि धेरै सिमानामा व्यवस्थित हुन नसक्दा नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।