प्रधानमन्त्री केपी ओलीकाे राेजाईमा सधैं किन धनी व्यापारी पर्छन ?

लोकपाटी न्यूज

काठमाडौं । झापाबाट कम्युनिस्ट राजनीति सुरु गर्दा अहिलेका प्रधानमन्त्री केपी ओलीहरूले पनि व्यक्ति हत्याबाट थालेका थिए । जसलाई झापा आन्दोलन भनियो। त्यही काण्डमा ओली पक्राउ परे। १४ वर्ष जेलमा बसे। आफ्नो युवा उमेर जेलमा बिताउनुपर्दा ओलीमा आर्थिक सम्पन्नता र पैसा महत्वपूर्ण लागेको उनकै समकालीन नेताहरूले बताउने गरेका छन्।

जेलबाट निस्केपछि ओली पार्टीमा सक्रिय भए। त्यसपछि उनले जहिल्यै पनि पैसा भएका नेता वा व्यापारीलाई च्याप्ने गरेको देखिएको छ। अहिले त्यो उत्कर्षमा पुगेको छ। मन्त्रिपरिषद्देखि आफ्नो किचेन क्याबिनेटमा पनि ओलीले धनी व्यापारीलाई राख्ने गरेका छन्।

त्यही भएर अहिले कोही पनि उद्योगी व्यापारी ओलीविरुद्ध चुँसम्म बोल्न मान्दैनन्। नेपाल विद्युत प्राधिकरणले दर्जनौं उद्योगी व्यापारीबाट करिब १० अर्ब बक्यौता उठाउन बाँकी छ। ट्रंक र डेडिकेटेड विद्युत लाइन प्रयोग गरेबापत नाम चलेका उद्योगी व्यापारीले राज्यलाई अर्बौ रुपैयाँ तिर्न बाँकी छ । अहिले तिनै व्यापारी ओलीको छत्रछायाँमा परेका छन्। शरणमा पुगेका छन्।

जसले गर्दा ओलीले प्राधिकरणलाई व्यापारीबाट बक्यौता नउठान दबाब दिँदै आएका छन्। कुलमान घिसिङले प्राधिकरणमा पुनः नियुक्ति नपाउनु पनि उद्योगीकै कारण मानिएको छ। अघिल्ला अर्थमन्त्री युवराज खतिवडाले अग्रवाल घरानियालाई सजिलो पारिदिन चकलेट र विद्युतीय कारमा कर घटाइदिएका थिए। त्यो पनि ओलीकै निर्देशनमा भएको पुष्टि हुन्छ । नेपाली राजनीतिक दलमध्ये एमाले सबैभन्दा व्यवस्थित र संगठित पार्टी हो।

एमालेका हरेक वर्ग र क्षेत्रमा राम्रो पकड छ । शिक्षक, कर्मचारी, सुरक्षा निकाय, एनजीओ आइएनजीओ, व्यापारिक घरानामा एमाले मन पराउने धेरै छन्। यी ठाउँमा एमालेले विभिन्न आश्वासन र प्रलोभन दिएर आफ्नो संगठन विस्तार गरेको छ। हुन पनि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको संरक्षणवादी नीतिका कारण पनि सो पार्टीलाई भोट दिनेको संख्या उल्लेख्य रहेको देखिन्छ। देशको संविधान, कानुन, ऐन नियम सबैलाई लत्याएर भए पनि ओलीले आफ्ना कार्यकर्ताको संरक्षण गर्दै आएका छन्।

देशका महत्वपूर्ण निकायमा नियुक्ति र अवसर दिने गरेका छन्। पछिल्लो समय एमालेमा व्यापारीको लस्कर पनि धेरै देखिएको छ। ओलीले पार्टीको नेतृत्व सम्हालेदेखि नै एमालेमा व्यापारीको दबदबा बढेको हो। ओलीले आफ्नो आर्थिक सल्लाहकार नै मोती दुगड राखेका छन्। जो कर र भ्याट छलीमा मुछिएका व्यक्ति हुन्। अहिले अर्घाखाँची सिमेन्टका सञ्चालक राजकुमार अग्रवालले साढे दुई अर्ब बिजुलीको बक्यौता तिर्न बाँकी छ।

ओलीले त्यो पैसा पार्टीका लागि लिएर मिनाहा गराउने आशंका बढेको छ। मन्त्रिपरिषद्‍मा व्यापारीलाई राखेका ओलीले एमाले मुख्यालय बस्‍ने घरको बन्दोबस्त पनि अहिले आर्थिक सल्लाहकार व्यापारी दुगडले गरेका हुन्। झगडियाको चिया पनि नखाने नेपाली समाज, संहिता सबैलाई ओलीले तिलाञ्‍जलि दिएका छन्। पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानमा एमालेको मुख्यालय बस्दा यति समूहले नेपाल ट्रस्टका अधिकांश सरकारी जग्गा हडप्‍न सफल भएको थियो।

यति समूहका आङछिरिङ शेर्पा, खेतान समूहका राजेन्द्र खेतान, बी एन्ड सी मेडिकल कलेजका दुर्गा प्रसाई, पशुपति मुरारकादेखि आईएमई ग्रुपसम्म सबै एमालेकै कब्जामा छन्। अहिले बिजुली बक्यौता विवादमा परेका व्यापारी अग्रवालको घरमा एमाले पार्टी कार्यालय बस्‍ने भएको छ। अबको डेढ वर्षमा ओलीले कति व्यापारी र उद्योगीलाई फाइदा हुने निर्णय गर्ने हुन् ? केही समय पर्खनै पर्ने हुन्छ।