प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

Kp_Sapkota
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

‘अस्तिनैदेखि भेट्ने कुराकानी भएको थियो, आज भेटवार्ता भएको छ,’ थापाले भने, ‘संसद सञ्चालन र संसदको बिजनेशको विषयमा कुराकानी भएको छ।’ सभामुख सापकोटाले प्रधानमन्त्री ओलीलाई झण्डै साढे तीन महिनापछि भेटेका हुन्। पुस ५ मा प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय गरेपछि सभामुख सापकोटाले प्रधानमन्त्री ओलीलाई भेट्न पाएका थिएनन्।

प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पनि प्रधानमन्त्री ओलीले सभामुख सापकोटालाई भेटका लागि समय दिएका थिएनन्। प्रधानमन्त्री ओलीलाई आफूले भेट्न खोजिरहेको भएपनि समय नपाएको भन्दै सभामुख सापकोटाले गुनासो गर्दै आएका थिए। सरकारले संसदलाई बिजनेस नदिएपछि प्रतिनिधिसभा बैठक प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन।

संसद पुनर्स्थापनापछि फागुन २३ मा बसेको बैठकमा सभामुख सापकोटाले सरकारले पेस गरेका अध्यादेश अघि नबढाएपछि प्रधानमन्त्री ओली उनीसँग असन्तुष्ट रहँदै आएका छन्। पुनर्स्थापित संसदको पहिलो बैठक सुरु गर्न ढिलाइ गरेको भन्दै प्रधानमन्त्री ओली संसद बैठकमा सहभागी नभई बालुवाटार फर्किएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्