काठमाडौं। नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले केपी शर्मा ओली नेतृत्वको सरकारलार्ई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताएका छन्। उनले ओली प्रधानमन्त्री भएकै दिनदेखि नै आफूहरुले विश्वासको मत नदिएको बताए ।
शनिबार राजधानीमा बृहत् नागरिक आन्दोलनको छलफल कार्यक्रममा उनले भने, ‘‘प्रमुख प्रतिपक्षी दलले अविश्वासको प्रस्ताव जहाँसुकैबाट जसरी आए पनि अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्छ। अहिलेका प्रधानमन्त्रीसँग प्रधानमन्त्री भएकै दिनदेखि हाम्रो विश्वास छैन।’’
अहिले प्रधानमन्त्री ओली गठबन्धनको सरकार बनाउनेभन्दा पनि संसद्को ठूलो दलको हैसियतमा धारा ७६(३) अनुसारको सरकार बनाएर प्रतिनिधिसभा विघटन गरी चुनावमा जाने मनसायमा रहेको उनको भनाइ छ। ‘‘प्रधानमन्त्रीलाई ७६ को २ मा बसिराख्न मन छैन। प्रधानमन्त्रीलाई ७६ को ३ मा अथवा ५ मा पुग्ने हतार छ।
७६ को ५ को पनि उहाँलाई हतार छैन ७६ को ३ भनेको सबैभन्दा ठूलो राजनीतिक दलको नेताका रुपमा विश्वासको मत प्राप्त नगरेर पनि प्रधानमन्त्री हुने र ७६ को ५ को प्रधानमन्त्री बहुमतको प्रधानमन्त्री हुन नसक्ने अवस्थामा ७६ को ७ को प्रावधानलाई ७६ को ३ को प्रधानमन्त्रीले पनि प्रयोग गर्न सक्ने त्यो चाहनालाई उहाँले गम्भिरतापूर्वक लिनुभएको छ र हेर्नुभएको छ। र, त्यता मुलुकको राजनीति जाओस् भन्ने उहाँको चाहना छ भन्ने हामीलाई लागेको छ,’’
उनले भने, ‘‘हाम्रो अनुमान गलत हुनसक्छ। तपाईंहरुको बीचमा हामीले के राख्नुपर्छ भने यो एसेस्मेन्टलाई पनि गम्भीरतापूर्वक हेरिदिनुहोस् । र, त्यसमा हामीले अघि प्रचण्डजीले इंगित गर्नुभयो कि विश्वास फिर्ता लिँदाखेरी ७६ को २ प्रधानमन्त्रीलाई सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिन बाध्य हुनुहुन्छ।
विश्वासको मत उहाँले पाउनु हुन्न । तर, आजको दिनमा प्राविधिक रुपमा राजनीतिक रुपमा केपी शर्मा ओलीसँग संसद्को बहुमत पनि छैन । केपी शर्मा ओलीको विपक्षमा प्राविधिक रुपमा बहुमत पनि छैन । राजनीतिक रुपमा बहुमत छ, प्राविधिक रुपमा बहुमत छैन । त्यसको राजनीतिक फाइदा लिनका लागि उहाँ बस्नुभएको छ । एउटा समयसम्म त्यो फाइदा न प्राप्त गर्नुहोस् भन्ने हाम्रो चाहना छ ।’’



लोकपाटी न्यूज

